काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री बन्न सफल भएका छन् । यसअघि चार पटक प्रधानमन्त्री बनिसकेका उनी सर्वोच्च अदालतको परामादेशसँगै पाँचौँ पटक मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । २०७४ सालमा आफ्नै नेतृत्वमा भएको आम निर्वाचनमा काँग्रेसको लज्जास्पद पराजय भयो । वाम गठबन्धन झण्डै दुई तिहाई बहुमत नजिक पुग्दा काँग्रेस भने ६३ सांसदका साथ प्रतिपक्षी बेञ्चमा थन्कियो । देउवाले संसद्मा प्रतिपक्षी नेताका हैसियतले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप पनि लाग्दै आएको थियो । तर, यसबीचमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’मा कलह उत्पन्न हुनु, सर्वोच्चको आदेशअनुसार नेकपा खारेजमा पुगेर नेकपा एमाले र नेकपा माओवादी केन्द्रका रूपमा साबिककै अवस्थामा फर्कनुजस्ता कारणले राष्ट्रिय राजनीति अनपेक्षित मोडमा पुग्यो । यति मात्र होइन, केपी शर्मा ओली नेतृत्वको सरकारले दुई पटकसम्म प्रतिनिधिसभा विघटनको असफल प्रयास ग¥यो । दुवै पटक संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गरिदियो । यो पनि

​त्यसो त, गत फागुन ११ गते पहिलो पटक संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएसँगै देउवा प्रधानमन्त्रीका आकाङ्क्षीका रूपमा फ्रन्टलाइनमा देखिएका थिए । तर, सिङ्गो जनता समाजवादी पार्टी (जसपा) नेपाललाई साथमा लिन नसकेपछि उनका लागि प्रधानमन्त्री बन्ने ढोका बन्द भयो । परिणामतः केपी शर्मा ओली नै प्रतिनिधिसभामा सबैभन्दा ठुलो दलका नेताका रूपमा प्रधानमन्त्री बने । संविधानतः ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा ‘मार्ग प्रशस्त’ गरेर बसेका उनी शेरबहादुर देउवाले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीका लागि दाबी गरेसँगै पुनः प्रधानमन्त्रीको रेसमा देखिए । राष्ट्रपतिले उपधारा ५ बमोजिमको प्रधानमन्त्रीका लागि दुवैको दाबी नपुगेको ठहर गरेसँगै प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा फेरि विघटन गरियो । तर यो पटक संवैधानिक इजलासले प्रतिनिधिसभा पुनर्स्थापित मात्र गरेन, शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशसमेत जारी ग¥यो ।  सोही आधारमा देउवा पाँचौँ पटक प्रधानमन्त्री बन्ने भाग्यमानी नेताका रूपमा अङ्कित हुन पुगेका छन् । को हुन् देउवा ? ७६ वर्षीय देउवा अनुभवी र परिपक्व राजनीतिज्ञ हुन् । २००३ सालमा डडेलधुराको असिग्राममा पिता प्रसादसिंह देउवा र माता द्रौपती देउवाको जेठो सन्तानका जन्मिएका उनी २०२० सालदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भए । एसएलसी दिएपछि उच्च शिक्षाका लागि २०२१ सालमा काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना भएसँगै देउवा काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)मा सक्रिय भए । विद्यार्थी राजनीतिबाट २०२८ सालमा नेविसंघको निर्वाचित सभापति भएका देउवाले पटक–पटक गरी १० वर्ष १० महिना जेल जीवन बिताए । त्यसपछि उनले राजनीतिमा संघर्ष कम लाभ बढी उठाउँदै आएको पाइन्छ । त्यसैले पनि काँग्रेस राजनीतिमा देउवालाई ‘भाग्यमानी व्यक्ति’का रूपमा लिइन्छ । २०४६ मा काँग्रेसले देशमा पहिलो जनाअन्दोलनको नेतृत्व गरिरहँदा देउवा लन्डन स्कूल अफ इकोनोमिक्समा अध्‍ययन गरिरहेका थिए । २०४७ सालमा जनाअन्दोलन सफल भएपछि मात्र देउवा लण्डनबाट काठमाडौं आए । काँग्रेसबाट प्रतिनिधिसभा सदस्य पदको टिकट लिएर उनी गृहजिल्ला डडेल्धुरा लागे । सुदूरपश्चिममा देउवाकै नेतृत्वमा चुनावी अभियानमा होमिएको काँग्रेसले १८ सिटमध्ये १७ सिटमा जित हासिल ग¥यो । अनि ०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा देउवा गृहमन्त्री बने । त्यसयता नेपाली राजनीतिमा कहिल्यै गुमनाम छैनन् उनी । राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका देउवा ०४८ पछि राजनीतिको केन्द्रमा छन् । २०५१ सालमा भएको मध्यावधि निर्वाचनपछि काँग्रेस संसदीय दलको नेतामा सर्वसम्मत चयन हुँदै देउवाका लागि पहिलो पटक प्रधानमन्त्री बन्ने ढोका खुलेको थियो । अल्पमतको एमाले सरकारको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि देउवा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि सुशील कोइरालालाई संसदीय दलको नेतामा पराजित गरी ०५८ साउनमा उनी दोस्रो पटक प्रधानमन्त्री बने । तर पार्टीको निर्देशनविपरीत २०५९ जेठ ८ मा संकटकाल लम्ब्याउने निर्णय गरेको भन्दै उनी काँग्रेसबाट साधारण सदस्यतासमेत नरहने गरी निष्कासनमा परे । त्यसपछि देउवाले २०५९ असोज ४ मा पार्टी फुटाएर काँग्रेस प्रजातान्त्रिक गठन गरी सो पार्टीको सभापतिसमेत बनेका देउवालाई तत्कालीन राजा ज्ञानेन्द्रले ०५९ असोज १८ मा प्रतिगामी कदममार्फत सत्ताच्यूत गरेका थिए । दलहरुको आन्दोलनको बलमा ज्ञानेन्द्रले प्रतिगामी कदम फिर्ता लिँदै ०६१ मा देउवालाई पुनः प्रधानमन्त्री बनाए । तर २०६१ माघ १९ मा ज्ञानेन्द्रले देउवालाई पुनः हटाउँदै सक्रिय शासन सुरु गरे भने देउवालाई जेल हालियो । जेलमै रहेका बेला देउवा काँग्रेस प्रजातान्त्रिकको सभापतिका सर्वसम्मत रूपमा चुनिए । पछि ०६४ मा पार्टी एकीकरण गरी काँग्रेसमै फर्किएपछि गिरिजाप्रसाद र सुशील कोइरालासँगको लडाइमा उनी सफल हुन सकेनन् । ११ औँ महाधिवेशनमा गिरिजाप्रसाद र १२ औँ महाधिवेशनमा सुशीलसँग उनी सभापतिमा पराजित भए । ०७० माघमा देउवा सुशीलसँग संसदीय दलमा पराजित भएका थिए । त्यसअघि ०६६ असारमा भएको दलकै निर्वाचनमा रामचन्द्र पौडेलसँग पनि देउवा पराजित भएका थिए । तर ०७१ सालमा भएको १३ औँ महाधिवेशनमा पौडेललाई नै सभापतिमा पराजित गरेर उनी काँग्रेसको सभापति बने । ०७३ मा देउवालाई चौथो पटक प्रधानमन्त्री बन्ने अवसर जुर्‍यो । तर देउवा नेतृत्वमै भएको आम चुनावमा काँग्रेस पराजित भएपछि उनी विपक्षी कित्तामा पुगेका थिए । ०७८ असार २९ गते उनी पाँचौँ पटक प्रधानमन्त्री बने । के छन् चुनौती ? मुलुकमा कोरोना महामारी र राजनीतिक विश्वासको संकटका बीच देउवाको सत्तारोहण भएको छ । उनी विभिन्न चुनौतीहरूको चाङमाथि उभिएर प्रधानमन्त्री बनेका छन् । विपक्षी गठबन्धनको नेतृत्व गरेका देउवाले योबीचमा नागरिकको जीवन रक्षालाई प्रमुख प्राथमिकता बनाउने बताएका थिए । सरकारमा पुगेपछि त्यो प्रतिबद्धता कार्यान्वयनमा ल्याउनुपर्ने चुनौती उनीसामु छ । यस्तै विपक्षी गठबन्धनले पूर्ण कार्यकाल संसद चलाउनुपर्ने मान्यता राख्दै आएको थियो । अब संसदलाई पूर्ण कार्यकालसम्म लैजाने चुनौती पनि देउवासामु छ । सोमबार विपक्षी गठबन्धनका बैठकमा एमाले वरिष्ठ नेता माधव नेपालले पार्टी एकताका लागि आफूहरु पाँच दलीय गठबन्धनबाट बाहिरिने संकेत गरेसँगै देउवा सरकारको आयुमाथि प्रश्न उब्जिएको छ । यो पनि


प्रधानमन्त्रीका रूपमा देउवाले विश्वासको मत हासिल गर्न काँग्रेस, माओवादी केन्द्रका अतिरिक्त माधव नेपाल समूह वा सिंगो जसपाको साथ अनिवार्य लिनुपर्ने हुन्छ । यसअघि ओली कित्तामा उभिएको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षसँग समझदारी गरेको अवस्थामा देउवालाई सरकार चलाउन सहज हुन्छ । अन्यथा माधव नेपाल पक्षले तत्कालका लागि विश्वास मत दिए पनि भोलि बजेट तथा ऐन कानुन पास गर्नका लागि सरकारसँग प्रष्ट बहुमत नहुँदा समस्या पर्ने देखिन्छ ।

#शेरबहादुर देउवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *