२०२० को ‘बुक्स फर पिस’ बिशेष उपाधी नेपाली शान्ति बिज्ञ राजेन्द्र सेन्चुरीलाई प्राप्त भएको छ l ईटालीको रोममा आयोजित उक्त समारोहले शान्तिनिर्माणका लागि बिशेष योगदान पुर्याउने व्यक्तिहरुलाई विश्वभरीबाट छनौट गरेर सम्मानित गरेको थियो l

सेन्चुरीले आयरल्याण्डको ट्रिनिटी कलेज डब्लिनबाट अन्तर्राष्ट्रिय शान्ति अध्ययनमा एमफिल गरेका छन् भने नेपाल र श्रीलंकाबाट द्वन्द्व र शान्ति अध्ययनमा स्नातकोत्तर गरेका छन् l उनले बेल्जियमको केयू लुभेन विश्वविद्याल, स्विजरल्याण्डको इनिसिएटिभ्स अफ चेन्ज र स्विट्जरल्याण्डकै जेनेभा सेन्टर फर सेक्युरिटी पोलिसीबाट द्वन्द्व रुपान्तरण र शान्तिनिर्माण सम्बन्धी बिभिन्न कोर्स लिएका छन् । उनले नर्वेली सरकारको एफके (नर्वे) कार्यक्रम अन्तर्गत १ बर्ष भारतमा रहेर अनुसन्धान गरेका छन् l साथै अस्ट्रियाको भियनामा रहेको काईसिड डायलग सेन्टर र अमेरिकाको वाशिंगटन डिसीमा रहेको इन्टरनेशनल सेन्टर फर ननभ्वाएलेंट कन्फ्लिक्टको फेलो रहेका सेन्चुरीले आयरल्याण्डको आफ्नो अल्मा म्याटर (मातृ संस्था) मा युनेस्को रिसर्च फेलोको रुपमा समेत काम गरेका थिए। प्रस्तुत छ यी नै शान्तिकर्मीसँग दुनियाँ खबर डटकम टिमले गरेको टेलिफोन संवाद:

 

के मा व्यस्त हुनुहुन्छ हिंजो आज?

२१ सेप्टेम्बरमा ३९ औं अन्तर्राष्ट्रिय शान्ति दिवस थियो l उक्त दिवस प्राय हप्ता भरि नै बिभिन्न कार्यक्रम गरेर मनाउने चलन छ l म पनि देश बिदेशबाट भर्चुअल्ली संचालित कार्यक्रमहरुमा ब्यस्त रहें l यो हप्ता मेरा ४ वटा लेख प्रकाशनमा आए, ३ वटा कार्यक्रममा वक्ता भएर बोलें भने एउटा कार्यक्रम आफैंले आयोजना गर्यौं l समग्रमा मेरो शान्ति सप्ताह एकदमै फ्रुटफुल (फलदायी) रह्यो l

 

यो अन्तर्राष्ट्रिय पुरस्कार पाए पश्चात के कस्तो अनुभव गरिरहनु भएको छ ?

एकदम खुसी छु, राम्रै काम गरिरहको छु भन्ने त लाग्थ्यो नै तर यत्रो पुरस्कारबाट सम्मानित होइएला भन्ने चाँही सपनामा पनि सोचेको थिइन l आजसम्म पनि स्याबासी, आशिर्वाद र बधाईहरू निरन्तर आइनैरहेको छ l धेरै मान्छे, संघ/संस्थाहरुले अभिनन्दनका लागि बोलाउनु भएको छ l कतिले कार्यक्रममा बोल्न निम्तो दिइरहनु भएको छ l २/३ दिन जति आधा उधी दिन जस्तो त फोन मै जान्थ्यो, चिनेका त भै हाले नचिनेकाहरुबाट असंख्य फोन र मेसेजको बर्षात हुँदा मन औधी प्रफुल्लित भएको छ l अंग्रेजीमा भन्छन् नि अन क्लाउड नाईन, ह्याप्पी एण्ड एक्साईडेड भन्न पर्यो भने, हो त्यस्तै भैरहेको छ l

No description available.

 

एक्साईडेड चाँही किन होला?

हैन नसोचेको कुरा भयो त्यही कुरामा पनि एक्साईडेड छु अनि अब के होला, अभिनन्दन हुँदा के कस्तो होला, मप्रति ह्वात्तै बढेको जनचासोलाई अबको दिनमा कसरी सम्बोधन गर्ने होला, अनि यो चार्म (आकर्षण) क्षणभरमै ढल्की जाला कि रहिरहनेहोला, त्यस्तै त्यस्तै सोचहरु आउने भएर हो कि !

 

तपाईंले अहिले सम्म लिनु भएको ज्ञान र अनुभवका आधारमा भन्नुपर्दा शान्ति कसरी हाँसिल हुने रहेछ?

शान्ति हाँसिल गर्न द्वन्द्वका कारण र उत्प्रेरक पहिचान गरी त्यसमा काम गर्नु पर्ने रहेछ l हिंसा नहुनुलाई नै हामी शान्ति हुनु हो भनेर ठानिरहेका हुन्छौं तर त्यो पूर्ण शान्ति हैन रहेछ l त्यसलाई नकारात्मक शान्ति भन्छन् यस फिल्ड (क्षेत्र) का दार्शनिक युहान गाल्टुंग l उनको अनुसार सकारात्मक शान्ति त्यतिबेला मात्रै हाँसिल हुन्छ जतिबेला संरचनात्मक हिंसा वा संरचनात्मक विभेदहरुको अन्त्य हुन्छ l आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक विभेदहरु नै संरचनात्मक विभेद हुन् l दिगो शान्ति हाँसिल हुन, म अस्ट्रेलियामा अवस्थित इन्स्टिच्युट फर इकोनोमिक्स एण्ड पिस (आईपी) को २०२० को शान्ति राजदुत पनि हुँ, हो त्यो संस्थाको अनुसार सकारात्मक शान्ति बढी हुनुपर्छ l त्यसका लागि राम्रो काम गर्ने सरकार, श्रोत साधनको समान वितरण, सूचनाको प्रवाह, छिमेकीसँगको राम्रो सम्बन्ध, उच्च मानवीय पुंजी, अधिकारहरुको स्वीकार, भ्रस्टाचारको अन्त्य वा न्यूनीकरण र ब्याबसायका लागि उचित वातावरण l यी आठ कुराहरु भो भने दिगो शान्ति हुन्छ भन्ने कुराहरु प्रमाणित भएको छ l

र अर्को कुरो, अन्तर्राष्ट्रिय रुपमै हेर्दा पनि शान्तिनिर्माण चाँही द्वन्द्व भएको ठाउँमा मात्रै आवश्यक हुने क्रियाकलाप हो जस्तो गरी बुझिने प्रचलन छ, जुन अर्धसत्य मात्रै हो l हामीले जिल्ला तिर पुगेर शान्ति सम्बन्धी काम गर्दा प्रशाशकहरु अक्सर त्यसलाई खण्डन गर्ने गर्छन्, शान्तै छ नि किन चाहियो अहिले शान्तिनिर्माण सम्बन्धि कामहरू भन्छन् l तर शान्तिनिर्माण शान्तिकै अवस्थामा पनि उत्तिकै आवश्यक हुन्छ l त्यतिबेला पनि द्वन्द्वका कारक संरचनात्मक अन्यायहरु भै रहेको हुन सक्छ l त्यसको म्यापिंग (पहिचान) गरेर व्यक्तिगत, सम्बंधात्मक, संरचनात्मक र सांस्कृतिक पक्षहरुमा सामन्जस्यता ल्याउन आवश्यक हुन्छ, यो मेरो हैन यस फिल्डका बिज्ञ जोन पउल लेडर्याकको भनाई हो l जसरी ड्राईभर्स अफ कन्फ्लिक्ट (द्वन्द्वका चालक) को पहिचान गरिन्छ, त्यसरी नै ड्राईभर्स अफ पिस (शान्तिका चालक) को पनि पहिचान गर्न आवश्यक हुन्छ l संयुक्त रास्ट्रसंघले यो कुरा भर्खर भर्खरै बुझ्न थालेको छ l

 

यस पालिको अन्तर्राष्ट्रिय शान्ति दिवसको नारा ‘सबैमिली शान्तिलाई आकार दिउँ’ भन्ने थियो l त्यही सन्दर्भमा विश्व शान्तिका लागि के संदेश दिन चाहनुहुन्छ?

विश्वको युद्दको खर्च १४.१ ट्रिलीयन डलर थियो, २०१८ मा, जुन नेपालको बजेट भन्दा झन्डै ११०० गुणा धेरै हो l विश्वभरी युद्दमा खर्च हुने पैसा बाँड्ने हो भने हरेक पृथ्वी बासीलाई हरेक दिन ५.४० डलरको दरले दिन सकिन्छ बर्षे भरि l त्यही भएर म निशस्त्रीकरणको पक्षधर हुँ l संबिधान लेखनको दौरानमा शान्ति संबिधानको बारेमा पैरवी गर्यौं, तर सडकसभाबाट उठेको आवाज कसले सुन्ने ! दोस्रो विश्वयुद्द पछाडी जापानले आफ्नो संबिधानको, धारा ९ बाट, युद्दको उन्मुलन गर्यो l पानामा किरिबाती, कोस्टारिका लगायत २० वटा साना देशहरुले सेना नै हटायो अबको विश्वको ध्यान युद्दमा हैन, भविष्यमा आउन सक्ने यस्ता माहामारी बाट जुध्न र जनसंख्या वृद्धिले निम्त्याउने अभाव, प्राकृतिक श्रोतको विनास, जलवायु परिवर्तन र मानव अस्तित्वका लागि हुन सक्ने युद्दहरुबाट जोगाउन तर्फ केन्द्रित हुनुपर्दछ l सबै देशले मिलेर कार्य गर्ने हो भने यो सम्भव पनि छ, कति नै देश छ र विश्वमा !

तपाईंलाई एउटा कुरा भनम, यो पृथ्वीको भार क्षमता भनेको जम्मा ४० बिलियन जनसंख्या हो l तर यही अनुपातले बढ्ने हो भने ४० बिलियन त अबको मात्रै १३० बर्ष पछाडी नै पुग्दै छ सन् २१५० मा, तपाईं आफैं सोच्नुस् त्यसबेला मान्छेले मान्छेको मासु खानु पर्ने स्थिति आउला कि नआउला l साना ठुला, धनि गरिब, विकसित अविकसित, शक्तिशाली वा निरिह सबै रास्ट्रको ध्यान यता पुग्न आवश्यक छ l पिसबिल्डिंगमा (शान्तिनिर्माणमा) विश्वले खर्च गर्न आवश्यक छ l शान्तिका लागि खर्च गरिको १ डलरले भैरहेको द्वन्द्वको आर्थिक लागतलाई १६% ले कम गरिदिन्छ l अर्थात १०० डलर शान्तिमा गरिएको लगानीले १६०० डलर बराबरको युद्द-क्षति रोकिदिन्छ l अत: सबै मिलेर शान्ति प्रवर्द्धनमा जोड दिने बेला आएको छ, नत्र मानव अस्तित्व संकटमा पर्न धेरै समय लाग्नेछैन l

नेपालको संक्रमणकालीन न्याय धेरै भयो रोकिएको l यसको गाँठो कसरी फुक्ला तपाईंको विचारमा?

यो बिषय यथाशिघ्र टुंग्याइहाल्न आवश्यक छ l १४ बर्षसम्म पनि द्वन्द्वपिडितहरु न्यायका लागि लडिरहनु भएको छ l यो विषयलाई हेर्ने हो भने राज्य भएको प्रथ्याभुती हुँदैन l आखिर कहिले सम्म? नेताहरुले यो त्यत्तिकै टरिहाल्ने बिषय जस्तो मानेका छन्, यद्यपी यो त्यत्तिकै टर्ने बिषय कदापी होइन, ढिलो छिटो यसको सम्बोधन नगरी सुखै छैन l
यो समग्र प्रक्रियामा मूलभूत रुपमा ३ वटा कुरा महत्वपूर्ण मानिन्छन् – पिडितलाई न्याय पाएको अनुभूत गराउने, राजनीतिको आवरणमा भएका आपराधिक घटनालाई दण्डित गर्ने र फेरी भविष्यमा यस्तो घटना नदोहोरिने सुनिस्चितता गर्ने l हाम्रो देशको हकमा द्वन्द्वोत्तर न्यायलाई दण्डात्मक न्यायको रुपमा बुझियो l यद्यपी यो दण्डात्मक मात्रै नभएर पुनर्स्थापनामुखी र वितरणमुखी न्याय पनि हो l बृहत परिपूरण प्राप्त गर्ने भिक्टिम (पिडित) को अधिकार हो, तर हेर्नुस् अवस्था के छ, बुढेसकालको साहारा युद्दमा मारिएको बा-आमाहरू बाँच्न सक्ने स्थिति छैन l र यो न्यायीक र गैर-न्यायिक दुवै प्रक्रियाबाट अगाढी बढ्नु पर्छ l तर नेपालमा यसको गैर-न्यायिक पक्षलाई गौण गरिएको छ l पब्लिक अपोलोजी (सार्वजनिक क्षमायाचना), एम्नेस्टी (आममाफी), मेलमिलापहरुमा राज्यको तवरबाट काम हुन सकेको छैन l

आयोगहरु बनेका छन्, यथाशिघ्र यी आयोगहरुले आफ्नो काम सम्पन गरेर परिपूरण र अभियोजनको बाँकी कार्यभार पुरा गरिहाल्न आवश्यक छ l त्यति नगरुन्जेल यो रास्ट्रले अन्तर्राष्ट्रिय रुपमा सिर ठाडो गरेर हिड्ने स्थिति हुँदैन l साथै, घरेलु विधिबाट मुद्दाको किनारा नलगाउँदासम्म अन्तर्राष्ट्रिय कानुन पनि आकर्षित हुने खतरा रहि नै रहन्छ l

No description available.

 

त्यता पनि काम गरिरहनु भएको छ कि?

छु, भन्नै पर्दा मेरो विज्ञता नै त्यतै हो l दशक लामो द्वन्द्व खेपेको हाम्रो देशलाई अझै पनि द्वन्द्वका घाउहरुले पिरोली नै रहेको छ l शान्तिका लागि धेरै कामहरु भए, तर मुख्य र जटिल काम संक्रमणकालीन न्याय त अझै ज्युँका त्यूँ नै छ नि ! त्यही क्षेत्रमा कामहरु गर्दै छु, संस्थागत र व्यक्तिगत रुपमा l अब एक पटक समुदाय स्तरमा रहेका युद्दका डोबहरु मेटाउन, छिन्न भिन्न भएको समाजलाई जोड्न मेलमिलापको क्षेत्रमा ब्यापक रुपमा काम गर्न मन छ l जोन कउल्कर भन्ने एक जना व्यक्तिले सिएरा लियोनमा ‘फेम्बुल टोक’ अंग्रेजीमा ‘फ्यामेली टक’ (पारिवारिक कुराकानी) भन्छन्, हो त्यो गैर-न्यायिक बिधि अपनाएर हाम्रो जस्तै द्वन्द्वोत्तर समाजमा धेरै राम्रो काम गरेका थिए l उनीबाट म धेरै प्रभावित छु, त्यस्तै काम गर्ने मन छ l त्यसको बारेमा सम्बन्धित सरोकारवालाहरुसँग छलफल चलिरहेको छ l

 

शान्तिकर्मी र शान्तिका पक्षधरहरुलाई के संदेश दिन चाहनुहुन्छ?

शान्ति स्थापनार्थ धेरै काम गर्न बाँकी नै छ यो देशमा l १३ बर्षीय अबोध बालिका अंगिरा पासी बलात्कृत हुन्छिन् अनि समाजका जनप्रतिनिधि र अगुवा भनौदाहरुले उनलाई २५ बर्षीय आफुलाई बलात्कार गर्नेसँग जवर्जस्ती बिहे गरिदिन्छन् l अनि ती अबोध बालिकालाई दलित भएको कारण टर्चर (यातना) गरिन्छ l त्यसको लगत्तै उनी झुण्डिएर मरेको भेटिन्छिन्; झुन्ड्याइएको हो या आफैं झुन्डिईन् भन्ने कुरामा बहस चल्छ l यस्तो क्रुर र अन्यायमुलक छ हाम्रो समाजको दर्पण l यस्तो समाजलाई शान्तिमय र सबैका लागि बाँच्न योग्य बनाउनु नै एक सच्चा शान्तिकर्मीको काम हुनु पर्छ l

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *