एमाले केन्द्रीय कमिटीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको भए पनि यसबारे सम्बन्धित सांसदहरूले जानकारी पाएका छैनन्।

केन्द्रीय कमिटीको सोमबार बसेको बैठकले वरिष्ठ नेता माधव नेपालसहितका २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। केन्द्रीय कमिटीको बैठकमा नेपाल पक्षका केन्द्रीय सदस्यहरू सहभागी थिएनन्।

आइतबार नेपाल र पार्टी अध्यक्ष ओली पक्षका २२ सांसदले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए।

स्पष्टीकरण सोधिएको भनेर सञ्चार माध्यममार्फत् जानकारी पाएको भए पनि औपचारिक रुपमा जानकारी नआएको सांसद भवानीप्रसाद खापुङले सेतोपाटीलाई बताए।

‘केन्द्रीय कमिटीको बैठक बस्यो अरे। केन्द्रीय कमिटी भन्दा पनि एउटा गुटको बैठक होला,’ खापुङले भने, ‘केन्द्रीय कमिटी बैठक बस्नका लागि २०७५ साल जेठ २ गतेको कमिटी बस्नुपर्छ। त्यसले के-के गर्‍यो कुनै वास्ता छैन। मलाई केही थाहा छैन कसैले केही भनेको छैन।’

अर्का सांसद विरोध खतिवडाले पनि कुनै जानकारी नआएको बताए।

‘हामीलाई पत्र आउँदैनहोला। स्पष्टीकरण सोधेको तर जवाफ आएन भन्छन् अनि कारबाही गर्छन्,’ उनले भने, ‘काइते काम गर्न सिपालु छन्। जालीझेलीहरूले कुनै बहानामा कारबाही गरे भने नौलो हुँदैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *