सन् २०२० को शुरुआतताका म निकै उत्साहित थिएँ । नयाँ युगको सिनेमा क्षेत्र भएकाले दोस्रो चरणको प्रवेश जस्तो भएको थियो । त्यसैले केही नर्भस, आशावादी थिएँ ।

नयाँ प्रविधिमा आधारित सिनेमासँगको मेरो सहकार्य दिवेकर बनर्जीसँग थियो । निर्देशक बनर्जी सिने क्षेत्रका तीक्ष्ण व्यक्तिका रूपमा चिनिन्छन् । उनका कामको प्रशंसा नयाँ शैलीका सिनेमामा रुचि राख्नेहरूले मुक्तकण्ठले गर्दछन् ।

नेटफिल्क्ससँग मेरो तेस्रो प्रोजेक्ट थियो । मलाई थाहा थियो, सिनेमाको स्क्रिप्ट विलक्षण प्रकारको थियो । अघिल्ला प्रोजेक्टहरू जसरी उही निर्देशकको काममा सहभागी हुनुले नर्भस र उत्साहित दुवैले भरिएकी र आउने कामका लागि तयार थिएँ । लागेको थियो, मेरो फिल्मी क्यारियर फेरि शुरुआत हुँदैछ । व्यस्त काम र जीवनको दोस्रो अध्यायको शुरुआत भएको जस्तो लाग्यो ।

यस प्रक्रियासँगै आफूलाई चुस्त र स्फूर्त राख्नका लागि आयुर्वेदिक भिलेज जाने सोचमा थिएँ । फेब्रुअरीमा सुटिङको सेड्युल थियो । त्यसैले जनवरीमा भिजिट गर्ने भनेर लिस्टमा राखेकी थिएँ । जनवरीको अन्त्यतिर बुवाआमा सहित गोवास्थित आयुर्वेदिक रि–ट्रिटमा गएका थियौं ।

बसाइको क्रममा मेरो ध्यान शारीरिक तौल घटाउनु र सबैखाले तनावबाट मुक्त भएर सिनेमाको भूमिकाका लागि तयार रहनु थियो । आउँदो दुई महीना कामको व्यस्तता हुने भएकाले परिवारसँग बिताउने समय नहुने हुँदा अहिले नै बुवाआमासँग समय व्यतीत गर्नु र सिनेमाको पात्रका निम्ति पूर्ण रूपमा स्वस्थ र खुशी हुनुमा नै मेरो जोड थियो ।

गोवा गमन हामीहरूका लागि अद्भुत किसिमको आनन्ददायी विश्रामको अवधि बन्यो र त्यो सकेर हामी मुम्बई फर्कियौं ।

त्यसपछि म सिनेमाको कथा पठन र तयारीमा लागें । दिनहुँजसो अध्ययन र मनन गर्दै आफूलाई तयारी अवस्थामा राखेकी थिएँ । यस सिनेमा प्रोजेक्टको तयारी निकै मिहिनेतपूर्वक गरिरहेकी थिएँ, कस्तो लाग्थ्यो भने म पहिलोचोटि गर्दै छु, किनकि मेरो लगन र कठिन तपस्या कसरी गरिरहेकी थिएँ भने म युवावस्थामा सिनेमाको पात्रका लागि गर्दथें ।

मलाई थाहा छैन, मेरो सिनेमाप्रतिको लगन र कठिन तयारी स्क्रिनमा प्रतिबिम्बित हुन्छ हुँदैन, तर मैले आफूलाई फर्ममा राखेकी थिएँ । नयाँ युगको सिनेमा निर्माण, प्रविधिमैत्री नयाँ युगका युवा दर्शकहरूको रुचिलाई ध्यानमा राखेर मैले तयारी गरेकी थिएँ ताकि कुनै पनि अभाव वा रिक्तता मैले निर्वाह गर्ने पात्रमा नहोस् ।

अझ त्यो बेलाभन्दा पनि कठिन भनौं, मेरो तयारी चलिरहेको थियो । मलाई थाहा छैन, मेरो सिनेमाप्रतिको लगन र कठिन तयारी स्क्रिनमा प्रतिबिम्बित हुन्छ हुँदैन, तर मैले साँच्चिकै आफूलाई फर्ममा राखेकी थिएँ । नयाँ युगको सिनेमा निर्माण, प्रविधिमैत्री संस्कारमा छाएका नयाँ युगका युवा दर्शकहरूको रुचिलाई ध्यानमा राखेर मैले तयारी गरेकी थिएँ ताकि कुनै पनि अभाव वा रिक्तता मैले निर्वाह गर्ने पात्रमा नहोस् ।

सुटिङ शुरु भयो । बिहानै पाँच बजेतिर म निस्कन्थें र साँझतिर कहिले ८ बजे त कहिले ११ बजेतिर घर पुग्थें । सुटिङ राम्रोसँग चलिरहेको थियो । केही व्यवधानहरू नभएका होइनन् । मैले जसरी सोचेकी थिएँ, त्यही अनुरुप कामले गति लिइरहेको थियो ।

फेब्रुअरीको अन्त्य र मार्चको शुरूमा मैले गर्ने पात्रको विशेष मेकअपका लागि सोही अनुरुपका विज्ञ मेकअप आर्टिस्टलाई फिनल्यान्डबाट झिकाइएको थियो । उनीहरू ओस्कर विजेता आर्टिस्ट थिए र मेरो विशेष भूमिका रहेको पात्रको तयारीमा कुनै पनि अभाव हुन नदिन प्रबन्धकले ध्यान दिएका थिए ।

मलाई सम्झना छ, लगभग ६ देखि ७ घण्टासम्म मेकअपका लागि ऐना अगाडि बस्नुपर्थ्यो र मेरो साजसज्जाका निम्ति एक जना पुरुष र महिला विज्ञ अहोरात्र खटिएका थिए । म मेरो नयाँ भूमिका कस्तो होला भनेर निकै उत्साहित भएकी थिएँ । मार्चको शुरूतिरको कुरा हो, कोभिड–१९ बारेको समाचार विश्वका केही भूभागमा देखिन थालेको सञ्चारमाध्यममा आएको थियो ।

कोभिड–१९ विश्व सञ्चारमा एउटा नयाँ किसिमको जिज्ञासा र खोजको विषय बनेको थियो । कसैले इटलीमा यसो भयो भनेर लेखेको भनेको थाहा पाएँ, मसँग पर्याप्त समय थियो । त्यसैले ऐना अगाडि बसिरहँदा मेरो मेकअप गर्नेलाई जिज्ञासावश सोधें— ‘कोभिड–१९ बारे तपाईंहरूको के विचार छ ?’ विशेषगरी युरोपियन, अमेरिकन वा पश्चिमाहरू जो नेपाल वा भारतमा आउँदछन्, उनीहरू सचेत हुने भनेको विषय पिउनेपानी वा खाना नै हुन्छ ।

तसर्थ मैले जब कोभिड–१९ भाइरसको प्रसङ्ग आउँदा पक्कै पनि उनीहरू अझ बढी चनाखो र सतर्कता अपनाउँछन् जस्तो लाग्यो र उनीहरूको राय जान्नलाई प्रश्न गरेकी थिएँ । उनीहरूले भने— ‘यो एक किसिमको फ्लु हो । के तिमीलाई थाहा छ, संसारमा कति मान्छे फ्लुका कारण दिनहुँ मर्दछन् ?’ मैले थाहा छैन भनें ।

उनीहरूले भने— ‘यो पनि एउटा अर्को खाले फ्लु हो जसलाई मिडियाले खूब ठूलो मुद्दा बनाइरहेको र उचालिरहेको छ । यो त्यति महत्त्वपूर्ण होइन, जुन मात्रामा मिडियाले भनिरहेको छ ।’ मलाई लागेको थियो, यसबारेमा उनीहरूलाई बढी ज्ञान होला, किनकि जुन क्षेत्रबाट उनीहरू आएका थिए, त्यहाँ भाइरस बढिरहेको थियो, तर मलाई के थाहा थिएन भने मिडियासँगको गलत बुझाइबाट उनीहरू उम्कन खोजेजस्तो देखिन्थ्यो ।

विस्तारै सुटिङको काम सकिन लाग्यो । सबै जना निकै उत्साहित र आशावादी थिए, मेरो काम चलिरहेको थियो । एकले अर्कालाई बधाई स्वरुप ताली बजाएर सुटिङको समापनसम्म आइपुग्यौं । त्यसपछि पनि मेरो दिनचर्यामा निकै व्यस्तता थियो, किनकि भर्खरै मात्र रिलिज भएको सिनेमा मस्काको प्रवर्द्धनका निम्ति अन्तर्वार्ता दिनु र अन्य प्रचारका कार्यक्रममा सहभागी हुनु थियो ।

कामका निम्ति पाँचतारे होटलमा प्रबन्ध गरिएको थियो । दिनहुँजसो त्यहाँ जानु र नेटफिलिक्ससँगका अरू प्रोजेक्ट बारेमा पनि छलफल गर्नु, आफू अभिनीत सिनेमाको प्रचार गर्नु जस्ता काममा सहभागी भइरहेकी थिएँ । मैले निर्देशन गर्ने सिनेमाको कथा लेखन परिमार्जनमा पनि ध्यान दिनु थियो । धेरै व्यस्तताले घेरिएकी थिएँ ।

जीमको रुटिनलाई पुनः सक्रिय बनाएकी थिएँ, सोहो हाउसस्थित क्लबमा नियमित जान्थें, मुम्बईमा कलाकारहरूले मात्र प्रवेश पाउने उक्त क्लबमा राजनीतिक नेता र व्यापारीहरूलाई वर्जित गरिनु क्लबको रमाइलो पक्ष थियो । त्यसैले केवल कलाकार, सृजनशील लेखक र सिने क्षेत्रका व्यक्तिहरूसँग भेटघाट हुन्थ्यो । मेरा नजिकका साथीहरू र कहिलेकाहीं बुवाआमालाई पनि लिएर जान्थें र उर्वर समय व्यतीत गर्दै आधा दिनजसो त्यहीं बिताएर घर फर्कन्थ्यौं । क्लबको रुटिनले काममा भिजाइरहेको अनुभव हुन्थ्यो ।

यति बेलासम्म भारतमा कोभिड–१९ फैलिसकेको थियो । मुम्बईमा पनि फैलिएको समाचार प्रकाशमा आएको थियो । मुम्बईमा रहेको भाइ सिद्धार्थ जेनतेनले अन्तिम फ्लाइट लिएर नेपाल फर्किसकेको थियो । मलाई सम्झना छ, भाइलाई सुरक्षित रहनका लागि मैले मास्क र सेनिटाइजर दिएकी थिएँ ।

त्यतिबेला लागेको थियो, यो सामान्य सुरक्षाको तयारी जस्तो मात्र हुनेछ र यसले गम्भीर रूप लिने छैन । मुम्बई घरमा अब मसँग बुवाआमा र खाना पकाउने सहयोगी थियौं । विस्तारै कोभिडको भयावह बारेको समाचार फैलँदै गयो । मेरो एक जना साथीले फोनमा भनिन्, ‘मनिषा घरमा बुवाआमा हुनुहुन्छ । उमेरको कारणले बढी खतरा छ । उहाँहरूको विशेष ख्याल राख ।’

यसो भनिएपछि पो ममा बढी चिन्ता उत्पन्न भयो । लगत्तै लकडाउनको घोषणा भयो, ठाउँ छोडेर जानेहरू गइसकेका थिए, जो थिए, उनीहरू स्थानीय थिए वा अवस्थालाई हलुका रूपमा लिएर बसेकाहरू मात्र थिए । हामीले भने अवस्थाले यति भयावह रूप शायदै लेला भनेर अलमल गरेका थियौं, तर अब भने अवस्था आम मान्छेले सोचेभन्दा गम्भीर हुँदै गएको थियो ।

कोही पनि यसै भन्न सक्ने अवस्थामा थिएनन्, सबै जना आवश्यक सुरक्षाको तयारी अपनाएर बसेका थिए । घरमै थुनिनुपर्ने बाध्यता थियो । घरमा काम सघाउनलाई थप सहयोगी नियुक्त गरेका थियौं । हामीलाई लागेको थियो, लकडाउन लगभग हप्ता, महीना दिनका लागि होला । त्यही अनुरुप नै घरमा चाहिने सामानको प्रबन्ध गरेका थियौं । म बाहिर नगइकनै चाहिने सबै घरायसी सामानको व्यवस्था गर्नुपरेको थियो ।

यसरी भएको थियो, लकडाउन अवधिको मेरो रुटिन । यस्तो लाग्थ्यो जति नै हाम्रो तयारी भए पनि केही न केही रिक्तता सधैं हुन्छ नै, यसो भएको भए हुन्थ्यो भन्ने भइरहन्छ । इमानदारीपूर्वक भन्ने हो भने जीवन रोकिए पनि विकराल अवस्थालाई सक्दो टाढा धकेल्न हरप्रयत्न गरे जस्तो सबै मान्छेको हाल थियो, हामी पनि त्यही बचाइका अङ्ग थियौं र नियतिलाई भोगिरहेका थियौं ।

म त्यस्तो क्षेत्रमा आबद्ध थिएँ जहाँ कामपछि कामको मात्र कुरा हुन्छ । म सधैं केही न केही सृजनशील, उत्पादनशील काममा आफूलाई लगाइरहेकी हुन्थें । योजना तर्जुमामा ध्यान दिनु, केही प्राप्तिका लागि मेरो क्रियाशीलता रहिरहन्थ्यो, त्यो दृश्यमा होस् वा आत्मिक भेषमा, तर भनौं, म आफैंलाई अनुकूल बनाउन जस्तोसुकै अवस्थालाई पकडमा राखिरहने स्वभाव थियो, तर पहिलो, दोस्रो र तेस्रो लकडाउनपछिको वातावरण एकदमै असामान्य हुँदै गयो, लाग्थ्यो, लकडाउन अब लम्बिरहनेछ ।

पहिलो तीन हप्ता किन पनि महत्त्वपूर्ण थियो भने हामीमध्ये जोकोही पनि भाइरसलाई प्रतिरोध गर्ने, तर अरूलाई सार्न सक्ने भय थियो । रिपोर्टअनुसार श्वासप्रश्वासका बिरामी र वृद्धवृद्धाहरूलाई सजिलै आक्रमण गरेको थियो ।

पहिलो तीन हप्ताको अवधिमा नियमित शरीरको तापक्रम र अन्य अवस्थाको बारेमा जानकारी लिन निजी चिकित्सकको सहयोग लिएका थियौं । शरीरलाई चाहिने भिटामिनहरूको पूर्तिका लागि पनि ख्याल गरेका थियौं । चारैतिरको भयावहले मलाई पनि छोपेको थियो, बिहानपख औंलाहरू तातो भयको भान हुन्थ्यो र त्यो तातो हात हुँदै शरीरभरि फैलिएको जस्तो लागेर डाक्टरसँग सल्लाह लिन्थें, तर जब निधारमा छाम्थ्यौं र थर्ममिटरले चेक गर्थ्यौं, आत्तिनुपर्ने कुनै कारण थिएन ।

मलाई लाग्छ, मेरो जस्तो मानसिक अवस्था धेरैको थियो जो घरमा बसिरहेका थिए र कुरा सेयर गर्नका लागि आँट थिएन वा माध्यम पनि नहुन सक्छ वा कसै कसैको त दबाएरै राख्ने बानी हुन्छ । शरीरका हरेक अङ्गको अलगअलग तापक्रम हुँदोरहेछ र थर्ममिटरले सम्पूर्ण शरीरको तापक्रमलाई टोट्यालिटीमा देखाउने रहेछ भन्ने तथ्य थाहा भएपछि हातगोडा वा शरीरको कुनै अङ्गमा ताप बढे पनि चिन्ताको विषय भएन ।

घरमै बसिरहँदा धेरै विषयमा ज्ञान भएको थियो । मलाई कहिल्यै थाहा थिएन, कुन तरकारीलाई कसरी फ्रिजमा स्टोर गरिन्छ भनेर । लामो समयसम्मका लागि तरकारी तथा आवश्यक घरायसी सामग्री जसलाई आवश्यक तापक्रम मिलाएर राख्नुपर्दथ्यो त्यसको जानकारी लिएकी थिएँ । जानकारीका लागि साथीहरू, गुगल, युट्युब सहायक रह्यो । घरमा मसहित बुवाआमा र दुई जना सहयोगी थियौं ।

सहयोगीहरूलाई खानेकुराको पौष्टिकताबारे र सम्भावित भाइरस वा ब्याक्टेरियाबाट कसरी सफा राख्न सकिन्छ भनेर सिकाएका थियौं । सिङ्गो दिनको समयलाई बाँडफाँड गरेर कति समय घरभित्र कहाँ, के, कति दिनेबारे जानकार थियौं । घरभित्र सहयोगीहरू सक्रिय थिए भने मेरो जिम्मेवारीमा टेरेस गार्डेनको सफाइ, फूल–बिरुवाको रेखदेख थियो । यसो गर्दा शरीरलाई चाहिने भिटामिन डी प्राप्त हुन्थ्यो र निष्क्रिय बसिरहेका बेला शरीरले आरोग्य हुने मौका पाउँथ्यो ।

चिकित्सकको के सल्लाह थियो भने मैले विशेषगरी भिटामिन ए, बी, सी र डीमा ध्यान दिनुपर्दछ । शरीरका लागि आवश्यक अन्य पौष्टिक आहार भने हामी नियमित खानाबाट पाउँदथ्यौं, तर भिटामिन डीका लागि सूर्यको प्रकाश आवश्यक पर्दथ्यो र टेरेसमा कुचोले बढारकुँढार गर्ने र बोटबिरुवाको स्याहारसम्भार गर्ने मेरो निहुँ बनेको थियो, भिटामिन डी पाउनका लागि ।

अनावश्यक तौल घटाउनु र नियमित कसरत गर्नु जस्तै थियो ती कामको प्रकृति । यो क्रम लगभग एक महीनासम्म चल्यो । कहिलेकाहीं त लाग्थ्यो, यो कहिल्यै सकिंदैन होला । मलाई लाग्यो, जसरी एक महीना बितेर गयो त्यसरी नै अर्को दोस्रो महीना जोडिनेछ अनि तेस्रो । साँच्चै लकडाउनको अवस्था पनि त्यसरी नै लम्बिंदै गयो ।

बेग्लैखाले भय सृजना भइरहेको थियो । दिमागलाई, शरीरलाई कसरी स्वाभाविक स्थितिमा ल्याउने हो भनेर चिन्ता बढ्दै गएको थियो । मेरो पृष्ठभूमि भनौं वा एकपछि आउने अर्को कामको चापले निकै व्यस्त राख्दथ्यो । हरेक क्षण उपयोगी कसरी बनाउनेभन्दा पनि अझ बढी उपयोग गर्नेतर्फ मेरो ध्यान हुन्थ्यो । चाहे त्यो फिल्मसम्बन्धी विषयहरू हुन् वा पुस्तक लेखन कार्य होस् वा सगरमाथा आधार शिविरतर्फ जानुपूर्वको दह्रो तयारी होस्, धेरै कर्महरूले घेरिरहेका हुन्थे ।

ती कुनै पनि कर्महरू अहिले मेरा सामु थिएनन् र अनौठो किसिमको खालिपन अनुभूत भइरहेको थियो । तयारी किन र केका निम्ति भन्ने विचारको घेरो ममाथि मडारिरहेको थियो । एउटा ठूलो अपार्टमेन्टभित्र बसेर यी सारा कुराहरू सोचिरहेकी थिएँ, मलाई आफ्नै बिल्डिङको अर्को कोठामा जान पनि भयको अवस्था थियो ।

सबै स्थितिको मूल्याङ्कन गर्दै अल्छी हुन र अनावश्यक मानसिक उत्पीडनबाट आफूलाई टाढा राख्ने प्रयत्न गरिरहनु नै मेरो कर्म थियो । म सिकिरहेकी थिएँ, केवल हुनुमा लयबद्धता खोजिरहेकी थिएँ र त्यसैमा सक्रिय, झनै सक्रियता जनाउनमा ध्यान दिइरहेकी थिएँ ।

मलाई सधैं लाग्ने गर्छ, हामी मान्छेहरू एकखाले योजना बुन्छौं, उता अर्कोतर्फ अस्तित्व वा ईश्वरको योजना अर्कै थरीको हुन्छ । ईश्वरको योजना नै हाम्रो योजना बन्नुपर्छ वा त्यसलाई हामीले सहर्ष स्वीकार गर्नुपर्छ । अन्यथा दुःख र पीडा वहन गर्नुपर्दछ । मलाई थाहा छैन, अरू के गर्छन्, तर मेरो निजी बोध यही भन्छ ।

मैले आफूलाई धेरै अर्थ र आकारमा फैलाउने प्रयास गरेकी थिएँ । क्यान्सर अवधिमा लामो समय बेडमा रहनुपरेको थियो । त्यो अवधिका हिसाबले पाँच महीना जति थियो, तर त्यसभित्र अनुभव भएको र गरिएको जीवनको लम्बाइ, चौडाइ र उँचाइ धेरै बढी थियो ।

अझ भनौं, त्यसअवधिको बुझाइको गहिराइ निकै थियो । उक्त समयावधिलाई क्यालेण्डरसँग दाँज्न मिल्दैन न त घडीमा गन्न सकिन्छ । ती भोगाइका पाटाहरू मभित्रै सीमित छन् । वास्तवमा म केही पनि गरिरहेकी थिइनँ, गर्न सक्ने अवस्था पनि थिएन ।

जे गर्ने हो ती सबै डाक्टरहरूले गरिरहेका थिए । जीवनमा तिक्तता साधेर हिंडिरहेका व्यक्तिहरूका लागि अरूसामु समर्पण गर्नु निकै पीडादायी क्षण हुन्छ, तर पनि कुनै उपाय थिएन । शरीरलाई जे चाहने हो, त्यही हुन दिनु मेरो भावदशा थियो । यस्तो पनि बेला आउँदो रहेछ सबै क्रिया र परिणाम अस्तित्वका लागि वा जे पनि हुनेछ, त्यसका निम्ति आफूलाई पूर्ण रूपमा तयार हुन दिनु ।

गाह्रासाह्रा मान्छेहरू यस्तो अवस्थामा आएर पनि स्थितिलाई काबुमा राख्न निकै प्रयास गर्छन्, तर मेरा निम्ति बेडमा पल्टिरहँदा अनायास फुकेको बोधदशा के थियो भने जे हुन्छ, त्यो हुने नै छ र मैले आफूलाई सजिलो रूपमा छाडिदिनुपर्छ । सजिलो भइदिनुको महत्त्वबारे त्यसबेला हातमा परेको थियो ।

परिवर्तनको चाहना नराखी केवल अकारण परिवर्तनको बाहक भइदिने समयको साक्षी बनेको त्यस बखत मैले धेरै कुराहरू सिकेकी थिएँ । आफ्नो काबुमा नभएपछि बाँकी कृत्यका लागि अस्तित्वका निम्ति छोडिदिनुको अर्थ र त्यसले ल्याउने शान्तिको बारेमा थोरै भए पनि भोक्ता बनेर आएकी थिएँ ।

त्यसपछि जब म स्वस्थ भएँ, विस्तारै पूर्ववत् कामको लयमा फर्किसकेकी थिएँ । कामपछि काम र प्राप्तिपछिको प्राप्तिमा लागिरहेकी थिएँ । एउटा काम सकिन नपाउँदै अर्को कामका निम्ति योजना र तयारीमा हुन्थें, तर जब कोभिड–१९ को भयावहले छोप्यो, पहिलाको दौड र रुटिनलाई छोडेर केवल हुनुमा स्थिर राख्ने दिव्यता प्रदान गर्‍यो ।

भुलेको वा काम र प्राप्तिपछिको दौडमा अलमलिएको मेरो जीवनको धारलाई थाम्यो । केही गर्ने प्रयत्न होइन, हुने वा घट्ने वातावरणका लागि आफूलाई तयार राख्नुपर्छ भन्ने बोध यस क्रममा मैले पाएँ । हामीले कुनै पनि कुरा काबुमा राख्न सक्दैनौं वा कुनै पनि विषय वा अवस्था हाम्रो ज्ञान, सीपको पहुँचभन्दा पर छ र हामीभन्दा पनि पर केही त्यस्तो शक्ति छ, जसले सबै निर्देश गरिरहेको हुन्छ भन्ने बुझाइलाई अझ पारदर्शी रूपमा मसामु राखिदियो ।

मनमनै सोचें, साँचो कुरा सबै तिम्रो कन्ट्रोलमा छैन, ‘मनिषा कोइरालाभन्दा पनि माथि अरू कोही छ, जसले निमित्तको दर्जा दिएको छ । तिमी आफ्नो निजी जीवनमा स–साना परिवर्तनका लागि कसरत गर्न सक्छ्यौ, तर ती सबैभन्दा ठूलो परिवर्तनको साँचो अरू कसैसँग छ ।’

यसरी जीवनमा फेरि अर्को सिकाइले मलाई धाप मारेको थियो र मलाई धन्य बनाएको थियो । जे भइरहेको छ, घटिरहेको छ, ती सबैलाई शान्तपूर्वक हुन दिनु र हामी त्यस कृत्यका लागि सहयोगी भइदिनु नै हाम्रो नियति हो । धेरै गर्न खोज्नु वा केही पनि नगर्नुको मध्यमार्गमा रही आइरहेको अवस्थासँगै सहकार्य गर्नु नै हाम्रो कर्म हो शायद ।

क्यान्सरको अवस्थामा जसरी म केही पनि नगरी बसिरहेकी हुन्थें, ठीक त्यसैगरी मेरो दिनचर्या र मनोदशा पुनरावृत्ति भएको थियो । केवल घरमा बस्नु, कोठामा, ओछ्यानमा बसिरहनु र जे हुनेछ, त्यसका निम्ति सेतु साबित हुनु नै मेरो निर्विकल्प कर्म थियो ।

त्यसका निम्ति आफूलाई तयार पारेकी थिएँ, हार्दिकतापूर्वक घट्ने घटनाहरूलाई नियालिरहेकी थिएँ । एक्लै हुँदा मैले ध्यान, प्रार्थना, जप जस्ता कर्महरू जोडिएका थिए । अवस्थालाई नियाल्दै कसरी बढीभन्दा बढी सकारात्मक हुन सकिन्छ भनी ती सूत्रहरू अँगालेकी थिएँ । जब अवस्था विकराल बनेर आउँछ, मृत्युको भय, सबै छोडेर जानुपर्ने डर, कसरी सृजनशील र सकारात्मक हुने भन्नेबारेमा क्यान्सर लाग्दाको अवधिमा र अहिले फेरि पनि सिक्ने अवसर पाएँ ।

एकचोटि मन्दिर दर्शनका क्रममा पुजारीले भन्नुभएको थियो, ‘तिमीलाई थाहा छ, जसरी हामी बमको, मोलीक्युल्सको कुरा गर्छौं, तर यो सानो आँखाले देख्न नसक्ने भाइरसले सारा संसारलाई ठप्प पारिदियो । मानवजातिले चाहेर पनि केही गर्न सक्दैनौं, किनकि हामीलाई थाहा छैन, अब के गर्ने हो भनेर ? फेरि भाइरसलाई आँखाले देख्न पनि सकिंदैन ।

यो कहाँबाट आयो ? किन आयो ? र कसरी रोकथाम गर्ने भन्ने भेउ नै थाहा हुनसकेको छैन । हाम्रो आँखाले समेत देख्न नसक्ने सूक्ष्म भाइरस संसारमाथि शासन गर्ने हुँकार बोकेको मानवजातिलाई वा यस संसारलाई ठप्प पारिदिन सफल भयो । अझै हामी आफूलाई शक्तिशाली भन्छौं । सबैभन्दा तेज ठान्छौं । सर्वाधिक बुद्धिमान र दूरदर्शी भएर हामी समाज, देश र विश्व हाँक्न सक्छौं भन्छौं ।’

पुजारीको अभिव्यक्ति आफैंमा गम्भीर थियो र हामीले आफूलाई सर्वाधिक उच्च ओहोदामा राखेको भान भ्रम गर्नु जस्तो मात्र हो भन्ने आशय बोकेको भावार्थका रूपमा मैले ग्रहण गरेकी थिएँ । बितिरहेको दृश्यलाई विधायक दृष्टिकोण दिने काम पुजारीले गर्नुभएको थियो । सत्यलाई सत्य जसरी नै हेरिनुपर्छ । हरेकको सत्य फरक हुन्छ । जुन समयसँगै फेरिन्छ ।

मेरो सत्य काममा जुझारु भएर लाग्ने र केही प्राप्ति गर्ने थियो । अहिले सोफामा बसेर आकाशको अनन्तता हेर्दै गम्दै खुशी हुनुमा छ । मलाई सधैं लाग्ने गर्छ, हामी मान्छेहरू एकखाले योजना बुन्छौं, उता अर्कोतर्फ अस्तित्व वा ईश्वरको योजना अर्कै थरीको हुन्छ ।

भनिन्छ, ईश्वरको योजना नै हाम्रो योजना बन्नुपर्छ वा त्यसलाई हामीले सहर्ष स्वीकार गर्नुपर्छ । अन्यथा दुःख र पीडा वहन गर्नुपर्दछ । मलाई थाहा छैन, अरू के गर्छन्, तर मेरो निजी बोध यही भन्छ ।

(नेपाल सेन्टर इन्टरनेशनलद्वारा हालै प्रकाशित पुस्तक ‘कोभिड–१९ कथाहरू’ बाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *