July 26, 2026, Sunday
२०८३ श्रावण १०
Nepal 1:37:26 pm
Trending
जन आवाज

धनगढीमा चैतन्यले आयोजना गर्दै बृहत् रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर 

२०८२ कार्तिक १४

1.4K

धनगढी– समाजमा मानव सेवाको भावनालाई जागृत गर्दै र रक्तदानजस्तो पवित्र कार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले चैतन्य पाठशालाले “रक्तदान जीवनदान, मानव सेवाका लागि चैतन्य अभियान” भन्ने मूल भावका साथमा बृहत् रक्तदान कार्यक्रम तथा निःशुल्क आधारभूत स्वास्थ्य शिविर आयोजना गर्न लागेको जनाएको छ ।

कार्यक्रम भोली अर्थात् २०८२ साल कार्तिक १५ गते (सोमबार) बिहान ८ बजेदेखि विद्यालय परिसरस्थित फुटसल मैदानमा आयोजना हुने विद्यालयले जनाएको छ । यस विशेष कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, समाजसेवी तथा स्थानीय बासिन्दाहरूलाई सहभागिताकोलागि समेत आयोजकले अनुरोध गरेको छ ।

रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्त संवर्धन सेवा केन्द्र धनगढी, कैलालीले प्रदान गरेको र सोही अवसरमा विद्यालयले निःशुल्क आधारभूत स्वास्थ्य परीक्षण शिविर समेत सञ्चालन गर्ने भएको चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए ।

यस अभियानलाई सुदूरपश्चिम प्रदेश सरकारका स्वास्थ्य दूत तथा रक्तदान सद्भावना संयोजक दीपक उपाध्यायले अगुवाइ गर्नेछन्। उनले विगत लामो समयदेखि सुदूरपश्चिमका विभिन्न ठाउँमा रक्तदानका माध्यमबाट जीवन र मानव सेवामा सक्रिय योगदान दिँदै आएका छन् ।

चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाका अनुसार, विद्यालयले नियमित शैक्षिक क्रियाकलापसँगै सामाजिक उत्तरदायित्वका अभियानहरूमा समेत अग्रसर रहँदै आएको छ। विद्यालयका विद्यार्थीहरूलाई सेवा, सद्भाव र सहानुभूतिको भावना सिकाउने उद्देश्यले यस पटक रक्तदान अभियानको आयोजना गरिएको छ।

रक्तदानका माध्यमबाट थुप्रै ज्यानहरू बचाउन सकिने भएकाले प्रत्येक सक्षम व्यक्तिले कम्तीमा वर्षमा चार पटक रक्तदान गर्नुपर्छ भन्ने सन्देश कार्यक्रमले दिन खोजेको उनको भनाई रहेको छ।

रक्तदान र स्वास्थ्य शिविर दुवै कार्यक्रम एकैसाथ सञ्चालन हुने यस दिन विद्यालय क्षेत्र उत्साह र सेवा भावले भरिने अपेक्षा गरिएको छ।