बैतडी: बैतडीको सिगास गाउँपालिका–२ पिडेगोदा गाँजरीकी ३४ वर्षीया बेलमती धामीको निधनसँगै उनका पाँच सन्तान अभिभावकविहीन बनेका छन्।
भदौ २२ गते राति बेलमतीका भतिजा यज्ञसिंह धामीले बञ्चरो प्रहार गरी उनको ज्यान लिएको प्रहरीले जनाएको छ।
चार वर्षअघि श्रीमानलाई जण्डिसका कारण गुमाएकी बेलमती पनि नरहेपछि बालबालिकाहरु पूर्ण रूपमा असहाय बनेका हुन्। मृतककी छोरीमध्ये जेठी अहिले कक्षा ९ मा अध्ययनरत छिन्। बाँकी तीन छोरी र एक भाइको पालनपोषणको जिम्मा पनि उनको काँधमा आएको छ।
बेलमतीका भाइ केशव बिष्टका अनुसार परिवारमा अब अभिभावकत्व ग्रहण गर्ने कोही छैन। स्थानीय सूर्यबहादुर बोहराले बालबालिकाहरुको भविष्य जोगाउन सहयोग अभियान थालिएको बताए। उनका अनुसार संकलित रकम पीडित परिवारका लागि खर्च गरिनेछ।
यस्तै वडाध्यक्ष ठगेन्द्रसिंह ऐरले बेलमतीको परिवार गम्भीर समस्यामा परेको बताउँदै तत्कालीन सहयोग र दीर्घकालीन सहारा आवश्यक रहेको अध्यक्षले बताए।






