September 11, 2026, Friday
२०८३ भाद्र २६
Nepal 1:37:26 pm
Trending
जन आवाज

अपिहिमाल आरोहणमा दुर्घटना : दुई सदस्य घाइते, उद्धार प्रयास जारी

२०८२ भाद्र २९

1.1K

दार्चुला — अपिहिमाल आरोहणको क्रममा दुई जना सदस्य घाइते भएका छन् । अपिहिमालको पहिलो आरोहणका लागि गत भदौ १९ गतेदेखि प्रशिक्षण सुरु गरेको टोली शुक्रबार शिखरसम्म पुग्ने उद्देश्यले प्रस्थान गरेको थियो ।

आरोहणकै क्रममा टोलीका सदस्य सञ्जीव गुरुङ र तेन्जिङ लामा शेर्पा घाइते भएको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तबहादुर सिंह (ठेकरे) बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार गुरुङको खुट्टा भाचिएको छ भने शेर्पा शरीरमा चोटपटक लागेको छ ।

घाइतेलाई उद्धार गर्न दुई दिनदेखि निरन्तर प्रयास भइरहे पनि मौसमी प्रतिकूलताका कारण हेलिकप्टर अवतरण गर्न नसकेको अध्यक्ष बोहराले बताउनुभयो । सिम्रिक एयरको हेलिकप्टर शुक्रबारदेखि उद्धारका लागि परिचालित भए पनि भिजिविलिटी कम हुँदा सफलता मिल्न सकेको छैन ।

अहिले आरोहण टोली बेस क्याम्पमै रोकिएको छ भने उद्धार टोली गाउँपालिका केन्द्र खण्डेश्वरीमा प्रतीक्षारत छ । लगातार वर्षा भइरहेकाले आज पनि उद्धार कार्य प्रभावित भएको अध्यक्ष बोहराले बताउनुभयो ।

टोलीका दुई सदस्य घाइते भएपछि तत्कालका लागि आरोहण स्थगित गरिएको छ । घाइतेहरुको उद्धार सम्पन्न भएपछि बाँकी सदस्यले आरोहण गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय हुने गाउँपालिका अध्यक्ष बोहराले जानकारी दिनुभयो ।