काठमाडौं, २५ फागुन । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ ।
नेपाल फुटबल खेलाडी संघले माग पूरा नभएको भन्दै एन्फाको मुख्यालयमा आइतबार तालाबन्दी गरेको थियो । सोही विषयमा प्रेस विज्ञप्ति जारी गर्दै एन्फाले तालाबन्दी हुँदा ‘ए’ डिभिजन लिग समयमै गर्न असम्भव देखिएको जनाएको छ ।
‘शहीद स्मारक ए डिभिजन लिग र राष्ट्रिय लिग सञ्चालनका लागि एन्फा सहभागी क्लबहरू र खेलाडी संघबीच निरन्तर संवाद र समन्वय भई राष्ट्रिय लिग तय भएको र निर्धारित कार्यतालिकाअनुसार राष्ट्रिय लिग सम्पन्न भएको एक महिना पश्चात ए डिभिजन लिग सुरु गर्न एन्फा पूर्ण रुपमा प्रतिवद्ध रहेको र सोही बमोजिम तयारी भइरहेको जानकारी गराउन चाहन्छौँ,’ विज्ञप्तिमा उल्लेख छ, ‘तसर्थ खेलाडी संघको माग र त्रिपक्षीय सहमति तालाबन्दीको बीचमा सबै दैनिक प्रशासनिक गतिविधिहरू अवरुद्ध हुन गएको कारण कार्यान्वयन गर्न असम्भव देखिन्छ ।’
क्लब र खेलाडी संघबीच संवाद र समन्वय भई तय गरिएको कार्यतालिकाअनुसार ‘ए’ डिभिजन लिग गर्न एन्फा प्रतिवद्ध रहेको एन्फाले जिकिर गरेको छ । तर, तालाबन्दी हुँदा दैनिक प्रशासनिक गतिविधि अवरुद्ध हुन गएको कारण सहमति कार्यान्वयन गर्न असम्भव देखिएको एन्फाको तर्क छ ।








