काठमाडौं- बाढीपीडित घाइतेहरूको उपचारमा आवश्यक पर्ने रगतको अभावलाई केही हदसम्म पूर्ति गर्ने उद्देश्यसहित तथा देश परिवर्तनका लागि प्राण आहुति दिने जेन्जी (GEN-Z) पुस्ताका शहीदहरूको सम्मान र स्मरणमा चैतन्य लोकसेवाले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा काठमाडौंको शङ्खमूलस्थित चैतन्य सभा हलमा आयोजित रक्तदान कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले मानवीय सेवाको भावनासहित रक्तदान गर्दै विपद्को समयमा एक–अर्कालाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताएका छन्।
कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको छ। बाढी तथा अन्य विपद्का कारण घाइते भएका नागरिकको उपचारमा रगतको आवश्यकता पर्ने भएकाले संकलित रगतले उपचारका क्रममा केही राहत पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममार्फत चैतन्यले ‘रक्तदान जीवनदान’ भन्ने सन्देशलाई आत्मसात् गर्दै सामाजिक उत्तरदायित्वलाई व्यवहारमै उतार्ने प्रयास गर्दै आएको छ। एउटा व्यक्तिले गरेको रक्तदानले अर्को व्यक्तिको जीवन जोगाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले स्वस्थ व्यक्तिहरूलाई नियमित रक्तदानका लागि समेत प्रेरित गरिएको छ ।
त्यसैगरी, देशमा परिवर्तन र सामाजिक रूपान्तरणका लागि आफ्नो जीवन बलिदान गर्ने जेन्जी पुस्ताका शहीदहरूको योगदानको सम्मान गर्दै उनीहरूको स्मरणमा रक्तदान कार्यक्रम आयोजना गरिएको चैतन्य ग्रुप अफ कम्पनीका प्रमुख कार्यकारी अधिकृत गणेशप्रसाद जोशीले बाताए । शहीदहरूको सम्झनालाई केवल शब्द र श्रद्धाञ्जलीमा सीमित नराखी मानवीय सेवामार्फत समाजमा सकारात्मक योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जोशीले बताए।
स्थापनाकालदेखि नै सामाजिक सेवा तथा मानवीय सहयोगका विभिन्न अभियान सञ्चालन गर्दै आएको चैतन्यले रक्तदान अभियानलाई पनि निरन्तरता दिँदै आएको छ । विपद्, राष्ट्रिय महत्वका अवसर तथा सामाजिक आवश्यकताका समयमा विभिन्न सेवामूलक गतिविधि गर्दै आएको चैतन्यले आगामी दिनमा पनि यस्ता अभियानलाई थप प्रभावकारी बनाउँदै लैजाने समेत उनको भनाइरहेको थियो ।
चैतन्यको यो अभियानले बाढीपीडितको उपचारमा सहयोगसँगै जेन्जी शहीदहरूको योगदानलाई सामाजिक सेवासँग जोडेर स्मरण गर्ने सकारात्मक सन्देश दिएको छ।





