धनगढी- चैतन्य पाठशाला धनगढीले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि राहत सामग्री हस्तान्तरण गरेको छ । विद्यालयले सुन्दर नगर टोल विकास समितिले बाढीपीडितका लागि सङ्कलन गरिरहेको सहयोग अभियानमा १९ बोरा चामल र एक बोरा दाल उपलब्ध गराएको हो ।
बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले विद्यालयले उक्त खाद्यान्न सामग्री सहयोग गरेको जनाएको छ । प्राकृतिक विपद्का कारण समस्यामा परेका नागरिकलाई सहयोग गर्नु सामाजिक दायित्वसमेत भएकाले विद्यालयले आफ्नो तर्फबाट सक्दो सहयोग गर्दै आएको जनाएको छ ।
राहत सामग्री चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझा, शिक्षक–अभिभावक सङ्घका अध्यक्ष ईश्वर गिरी, माध्यमिक तह संयोजक विनोद क्षेत्री र चैतन्य एकेडेमी धनगढीका म्यानेजर सुमन भट्टले सुन्दर नगर टोल विकास समितिलाई हस्तान्तरण गरेका हुन् ।
विद्यालयले बाढीपीडितको कठिन अवस्थामा थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले विभिन्न माध्यमबाट सहयोग गर्दै आएको जनाएको छ। विपद्को समयमा पीडित परिवारलाई खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको आवश्यकता हुने भएकाले विद्यालयले मानवीय सहयोगलाई प्राथमिकता दिएको हो ।
सहयोग सामग्री हस्तान्तरण गर्दै शिक्षक–अभिभावक सङ्घका अध्यक्ष ईश्वर गिरीले विपद्का कारण समस्यामा परेका परिवारलाई सबैको साथ र सहयोग आवश्यक रहेको बताए । विद्यालयले उपलब्ध गराएको सहयोगले बाढीपीडितलाई केही भए पनि राहत मिल्ने उनको भनाइ छ ।
“विपद्को समयमा गरिएको सानो सहयोगले पनि पीडित परिवारका लागि ठूलो अर्थ राख्न सक्छ । चैतन्य पाठशालाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको यो सहयोगले बाढीपीडितलाई थोरै भए पनि राहत पुग्ने विश्वास लिएका छौँ,” गिरीले भने ।
चैतन्य पाठशालाले शिक्षासँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवाका गतिविधिलाई समेत निरन्तरता दिँदै आएको छ । विपद् तथा आपत्कालीन अवस्थामा प्रभावित समुदायलाई सहयोग गर्ने कार्यलाई विद्यालयले आफ्नो सामाजिक जिम्मेवारीका रूपमा अघि बढाउँदै आएको जनाएको छ ।
सुन्दर नगर टोल विकास समितिले विभिन्न व्यक्ति, संस्था तथा समुदायबाट सङ्कलन गरिएका राहत सामग्री भोटेकोशी बाढीपीडितसम्म पु¥याउने अभियान सञ्चालन गरिरहेको छ । चैतन्य पाठशालाले उपलब्ध गराएको खाद्यान्न सामग्री पनि सोही अभियानमार्फत प्रभावित परिवारसम्म पु¥याइने समितिले जनाएको छ ।




