October 22, 2026, Thursday
२०८३ कार्तिक ७
Nepal 1:37:26 pm
Trending
जन आवाज

३५ वर्षमुनिका युवाको प्रतिनिधित्वका लागि दार्चुलाबाट विनोद राज जोशीको उम्मेदवारी

२०८३ आश्विन १२

1.8K

दार्चुला- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दार्चुलाबाट ३५ वर्षमुनिका युवा खुलातर्फ विनोद राज जोशीले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन् । मालिकार्जुन गाउँपालिका–८, पस्ती निवासी जोशीले युवा पुस्ताको प्रतिनिधित्व गर्दै पार्टीको नीति निर्माण, संगठन र नेतृत्व तहमा युवाका मुद्दालाई थप प्रभावकारी रूपमा जोड्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताएका छन् ।

नेपाली कांग्रेसले २०८३ असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। निर्धारित कार्यतालिकाअनुसार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्यक्रम राखिएको छ।

पछिल्लो समय नेपाली राजनीतिमा युवा सहभागिता, पुस्तान्तरण र पार्टीभित्र नयाँ पुस्ताको भूमिका सम्बन्धी बहस बढिरहेको छ। कांग्रेसको संशोधित विधानले पनि ३५ वर्षमुनिका युवालाई केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व गराउने व्यवस्था गरेको छ। १५औँ महाधिवेशनमा प्रत्येक प्रदेशबाट एक महिलासहित दुई जना तथा खुलातर्फ सात जना गरी ३५ वर्षमुनिका २१ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ।

 

यही परिवेशमा जोशीको उम्मेदवारीलाई दार्चुलाको कांग्रेस राजनीतिमा युवा पुस्ताको सहभागितासँग जोडेर हेरिएको छ । विद्यार्थी राजनीतिमा सक्रिय रहँदै आउनुभएका जोशीले युवा पुस्ताका सवाल, अपेक्षा र विचारलाई पार्टीको नीति निर्माण तथा सांगठनिक तहमा जोड्ने आफ्नो मुख्य उद्देश्य रहेको बताएका छन् ।

मालिकार्जुन गाउँपालिका–८ पस्ती घर भएका जोशी हाल आरआर क्याम्पसमा अध्ययनरत छन् । विद्यार्थी जीवनदेखि नै राजनीतिक तथा सामाजिक गतिविधिमा चासो राख्दै आएका जोशीले आफूले प्रतिनिधित्व गर्न खोजेको पुस्ताका विषयलाई पार्टीभित्र संस्थागत बहसको विषय बनाउने बताएका छन् ।

जोशीको उम्मेदवारीका सन्दर्भमा सार्वजनिक गरिएको समर्थन अपिलमा उहाँको शैक्षिक पृष्ठभूमि, स्पष्ट विचार राख्ने क्षमता, संगठनप्रतिको निष्ठा, सहयोगी स्वभाव तथा युवासँग जोडिन सक्ने भूमिकालाई उल्लेख गरिएको छ। अपिलमा जोशीले पार्टी र नयाँ पुस्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउन सक्ने विश्वास व्यक्त गर्दै उहाँको उम्मेदवारीलाई समर्थन गर्न आग्रह गरिएको छ।

समर्थन अपिलमा जोशीले हालै पत्रकार सम्मेलनमार्फत प्रस्तुत गर्नुभएका विचार, पार्टीप्रतिको निष्ठा र राजनीतिक दृष्टिकोणले आफूहरू प्रभावित भएको उल्लेख गरिएको छ। साथै उहाँले विषयवस्तुलाई स्पष्ट र वस्तुनिष्ठ रूपमा प्रस्तुत गर्न सक्ने तथा संगठनलाई नयाँ उचाइमा पुर्‍याउने सोचका साथ अघि बढ्न सक्ने दाबी गरिएको छ।

युवा पुस्ताको सहभागिताको विषय कांग्रेसको यसपटकको महाधिवेशन प्रक्रियामा पनि प्राथमिकतामा देखिएको छ। पार्टीले ७७ वटै जिल्लामा नयाँ क्रियाशील सदस्यता वितरण तथा संगठन विस्तारका क्रममा ३५ वर्षमुनिका युवाको अधिकतम सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेको थियो।

जोशीले आफू निर्वाचित भएमा युवाका शैक्षिक, रोजगारी, उद्यमशीलता, प्रविधि, सामाजिक सहभागिता तथा राजनीतिक प्रतिनिधित्वसँग सम्बन्धित विषयलाई पार्टीभित्र उठाउने बताएका छन् । उनका अनुसार अहिलेको पुस्ता केवल पार्टीका गतिविधिमा सहभागी हुने मात्र नभई नीति निर्माण र निर्णय प्रक्रियामै अर्थपूर्ण भूमिका खोजिरहेको छ।

दार्चुलाबाट महाधिवेशन प्रतिनिधिका लागि उहाँको उम्मेदवारीले जिल्लाको कांग्रेसभित्र युवा प्रतिनिधित्वको बहसलाई समेत अगाडि ल्याएको छ। एकातर्फ अनुभवी नेतृत्वको निरन्तरता र अर्कोतर्फ नयाँ पुस्ताको सहभागिताबीच सन्तुलन कायम गर्ने विषय महाधिवेशनका क्रममा महत्वपूर्ण बहस बन्ने देखिन्छ ।

जोशीले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत राजनीतिक महत्वाकांक्षाभन्दा पनि युवा पुस्ताको आवाज पार्टीको नीति र संगठनमा पुर्‍याउने अवसरका रूपमा लिएको बताउनुभएको छ। उहाँले आफूलाई अवसर दिए युवाका मुद्दालाई प्राथमिकताका साथ उठाउँदै पार्टीलाई समयअनुकूल बनाउने अभियानमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा दार्चुलामा पनि विभिन्न तहका अधिवेशन तथा प्रतिनिधि छनोटको प्रक्रिया अघि बढिरहेको छ। कांग्रेसको आधिकारिक कार्यतालिकाअनुसार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन असोज ३ गतेका लागि तोकिएको थियो भने केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म हुने तय गरिएको छ।

 

अब जोशीको उम्मेदवारीले दार्चुलाबाट युवा पुस्ताको प्रतिनिधित्व कस्तो रूपमा स्थापित गर्छ भन्ने विषय महाधिवेशन प्रतिनिधि छनोटको परिणामसँग जोडिनेछ । युवा सहभागिता र पुस्तान्तरणको बहसबीच उहाँले अघि सारेका एजेन्डा तथा मतदातामाझ राखेको राजनीतिक दृष्टिकोणले भने उहाँको उम्मेदवारीलाई दार्चुलाको महाधिवेशन प्रक्रियामा चर्चाको विषय बनाएको छ।

भर्खरै