October 22, 2026, Thursday
२०८३ कार्तिक ७
Nepal 1:37:26 pm
Trending
शान्ति प्रसाद जोशी

जुगेडामा असोज २५ देखि रामलीला

२०८३ आश्विन २०

180

धनगढी, १९ असोज/कैलालीको धनगढी उपमहानगरपालिका–१२, जुगेडा ‘डी’ गाउँमा ‘रामलीला तथा सांस्कृतिक कार्यक्रम–२०८३’ आयोजना हुने भएको छ ।
जुगेडा राइजिङ युवा क्लब र निःशुल्क ज्येष्ठ नागरिक चियाघरको संयुक्त आयोजनामा यही असोज २५ गतेदेखि कात्तिक ४ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र प्रवद्र्धनसँगै स्थानीय कलाकार तथा युवाको प्रतिभा प्रस्फुटन गराउने र समुदायलाई सांस्कृतिक गतिविधिमा जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको क्लबका सचिव किशोरकुमार जोशीले बताए ।
उनका अनुसार कार्यक्रममा नेपालसँगै भारतबाट समेत दर्शकको सहभागिता रहने अपेक्षा गरिएको छ ।

करिब १४ लाख रुपैयाँको लागतमा कार्यक्रम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कार्यक्रमको मुख्य प्रायोजक मयुर डेरी रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । रामलीला कार्यक्रमको कथावस्तु आदिकवि भानुभक्त आचार्यद्वारा नेपाली भाषामा अनुवादित ‘रामायण’ मा आधारित रहेको कार्यक्रमका निर्देशक खुमदत्त सञ्जेलले बताए । उनका अनुसार नेपाली भाषामा प्रस्तुत गरिने रामलीला भगवान् श्रीरामको जीवनकथामा आधारित नाट्य प्रस्तुति हुनेछ ।
युवालाई सामाजिक, धार्मिक, सांस्कृतिक तथा सिर्जनात्मक गतिविधिमा सक्रिय बनाउँदै सकारात्मक परिवर्तनमा सहभागी गराउने उद्देश्यसमेत कार्यक्रमको रहेको क्लबका अध्यक्ष रामचन्द्र भट्टले बताए ।
आयोजकका अनुसार कार्यक्रम अवधिभर रामलीलासहित विभिन्न सांस्कृतिक प्रस्तुति तथा गतिविधि सञ्चालन हुनेछन् ।

भर्खरै