October 22, 2026, Thursday
२०८३ कार्तिक ७
Nepal 1:37:26 pm
Trending
शान्ति प्रसाद जोशी

धनगढीमा सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल सञ्चालनमा, पहिलो चरणमा २७ कोठा खुला

२०८३ आश्विन २३

340

धनगढीः सुदूरपश्चिम प्रदेशकै पहिलो पाँचतारे होटलका रूपमा निर्माण भइरहेको धनगढीस्थित क्लब चौलानी लिमिटेडले पहिलो चरणमा २७ वटा कोठासहित सेवा सञ्चालनमा ल्याएको छ। करिब तीन अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको होटलले प्रारम्भिक चरणमा रेस्टुरेन्ट, फिटनेस सेन्टर, कफी सप र पार्किङलगायतका सुविधा उपलब्ध गराउन थालेको हो।

क्लब चौलानीका प्रबन्ध निर्देशक मानसिंह साउँदका अनुसार होटल पूर्ण क्षमतामा सञ्चालनमा आएपछि कुल ११५ वटा कोठा उपलब्ध हुनेछन्। हाल सञ्चालनमा रहेका कोठाको प्रतिरात भाडादर ६ हजारदेखि १२ हजार रुपैयाँसम्म निर्धारण गरिएको उनले जानकारी दिए।

अन्तर्राष्ट्रिय होटल चेन इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आईएचजी) अन्तर्गतको ‘होलिडे इन’ ब्रान्डसँग सहकार्य गरिएको होटलको दोस्रो चरणको निर्माण कार्यसमेत तीव्र गतिमा अघि बढिरहेको छ। दोस्रो चरणमा प्रेसिडेन्सियल सुइटसहित थप ८५ वटा कोठा निर्माण गर्ने योजना रहेको छ।

दोस्रो चरणको निर्माण सम्पन्न भएपछि होटलमा पौडी पोखरी, साउना, स्टीम, ज्याकुजी, स्पा, छतमा रेस्टुरेन्ट, क्यासिनो तथा करिब ७०० जना क्षमताको भोजभतेर हल थप गरिनेछ। यसका साथै दिनभरि खाना उपलब्ध हुने रेस्टुरेन्टलगायतका सेवा विस्तार गर्ने योजना रहेको प्रबन्ध निर्देशक साउँदले बताए।

होटलको आन्तरिक सजावट र डिजाइनमा सुदूरपश्चिमको कला, संस्कृति तथा मौलिक पहिचानलाई समेट्ने तयारीसमेत भइरहेको छ। यसले होटललाई अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवासँगै स्थानीय सांस्कृतिक विशेषता प्रस्तुत गर्ने गन्तव्यका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

दोस्रो चरणको निर्माण सम्पन्न भएपछि होटल होलिडे इन आईएचजीको व्यवस्थापनमा पूर्ण क्षमताका साथ सञ्चालनमा आउने कम्पनीले जनाएको छ।

अन्तर्राष्ट्रिय होटल ब्रान्डको व्यवस्थापनमा पाँचतारे होटल सञ्चालनमा आउनुले सुदूरपश्चिमको पर्यटन क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने विश्वास गरिएको छ। स्तरीय आतिथ्य सेवाको उपलब्धताले प्रदेशमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्नुका साथै धनगढीलाई पर्यटन, व्यापार तथा व्यावसायिक गतिविधिको महत्त्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यस परियोजनाले पर्यटनसँग सम्बन्धित सेवा, स्थानीय व्यवसाय तथा रोजगारीका अवसर विस्तारमा समेत योगदान पुर्‍याउन सक्ने देखिन्छ।

भर्खरै