धनगढी- विश्व हिन्दू परिषद् नेपाल, सुदूरपश्चिम प्रदेशको आयोजनामा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका छन्।
सामाजिक सेवा, मानवीय सहयोग र रक्त अभावका कारण हुने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार रक्तदान गर्ने ५० जनामध्ये १६ जना महिला र ३४ जना पुरुष रहेका छन्। कार्यक्रममा पहिलो पटक रक्तदान गर्ने ५ जना सहभागी रहेको विवरणमा उल्लेख छ।
रक्तदान कार्यक्रममा नियमित रूपमा रक्तदान गर्दै आएका रक्तदाताहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकले रक्तदानलाई केवल सामाजिक सेवाको कार्य मात्र नभई आपत्कालीन अवस्थामा कसैको जीवन बचाउन सक्ने महत्वपूर्ण मानवीय योगदानका रूपमा लिनुपर्नेमा जोड दिएको छ।
विश्व हिन्दू परिषद् नेपाल सुदूरपश्चिम प्रदेशले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको छ। यसअघि पनि परिषद्ले धनगढीमा बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको थियो।
‘रक्तदान जीवनदान’ भन्ने भावनालाई आत्मसात् गर्दै गरिएको यस कार्यक्रमले समाजमा रक्तदानप्रति सकारात्मक चेतना फैलाउन सहयोग पुग्ने आयोजकको विश्वास छ। आगामी दिनमा पनि यस्ता मानवीय तथा सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता परिषद्ले जनाएको छ ।
कार्यक्रमको संयोजन विश्व हिन्दुू परिषद् नेपालकी कैलाली जिल्ला उपाध्यक्ष तथा प्रदेश सदस्य पुष्पा जोशी भट्ट पारदेश समिति अध्यक्ष प्रकाश चन्द्र भट्ट रहेको विश्व हिन्दु परिषद् नेपाल केन्द्रीय सचिव महेन्द्र राजा पन्तले बताए ।





