November 16, 2025, Sunday
२०८२ कार्तिक ३०
Nepal 1:37:26 pm
Trending
जन आवाज

सुदूरपश्चिमका पहाडी जिल्लामा सार्वजनिक बस सेवा यात्रुका लागि ‘यातनाघर’ समान

२०८२ आश्विन २०

595

सुदूरपश्चिमका पहाडी जिल्लातर्फ दैनिक रूपमा यात्रु बोकेर चल्ने सार्वजनिक बससेवाको अवस्था वर्षौंदेखि दयनीय बनेको यात्रुहरूको गुनासो बढ्दो छ। अत्तरियाबाट नौ वटै जिल्लातर्फ र त्यस्ता जिल्लाका सदरमुकामहरूबाट अत्तरियातर्फ बसहरू दैनिक रूपमा सञ्चालन भइरहेका भए पनि सेवाको गुणस्तर भने यात्रुका लागि यातनासरह बनेको छ।

पत्रकार तथा सामाजिक अभियन्ता हरि प्रसाद जोशीका अनुसार पहाडी यात्रुहरूले लामो समयदेखि अन्याय सहँदै आएका छन् तर कसैले पनि यसबारे खुलेर आवाज उठाउने साहस गर्न सकेका छैनन्। उनी भन्छन्, “अब पनि हामीले कहिलेसम्म बस व्यवसायीहरूको अन्याय सहिरहनुपर्ने ?”

जोशीका अनुसार, अत्तरियाबाट छुट्ने बसहरू ३ देखि ४ घण्टा यात्रा गरेपछि खानाका लागि रोकिने गर्छन्। तर, ती स्थानहरू यात्रुका लागि नराम्रा मात्रै होइन, जनावरले समेत त्यहाँको खाना नखाओस् जस्ता हुन्। “जंगलको बीचमा एउटा मात्र टहरा, न विकल्प न सफाइ। सोडा हालेको भात, स्वादविहीन दाल, खोलानी जस्तो झोल, अनि सादा खानाको रु.२००–२५० र मासु खानाको रु.४००–४५० तिर्नुपर्ने बाध्यता,” जोशीले भनेका छन्।

त्यसरी यात्रा गर्ने यात्रुहरू मनमनै रिसाउँछन्, गुनासो गर्छन्, तर “यो देशमा बोलेर के हुन्छ?” भन्ने पीडासहित मौन बस्न बाध्य हुन्छन्। न त चालकहरू यात्रुसँग सभ्य व्यवहार गर्छन्, न सहायकहरूले। जोशीका अनुसार, बसमा सवार हुनासाथ यात्रुले नर्कीय व्यवहार सहनुपर्ने स्थिति सिर्जना हुन्छ।

पछिल्ला वर्षमा यस्तो अवस्थाले गर्दा जीपमा यात्रा गर्नेको संख्या बढ्दो क्रममा छ। तर सर्वसाधारणका लागि बस नै सस्तो र सहज विकल्प भएकाले उनीहरू बाध्यताले बसमा यात्रा गर्नुपर्ने अवस्था छ।

जोशीले भनेका छन्, “बस व्यवसायीहरूले सुदूरपश्चिमका पहाडी जिल्लाको यातायात सेवा नै नर्क बनाएका छन्, तर जिम्मेवार निकाय मौन छ।”

अब सम्बन्धित निकाय यातायात व्यवस्था विभाग, यातायात व्यवसायी महासंघ, स्थानीय प्रशासन र प्रदेश सरकारले यसतर्फ ध्यान दिनुपर्ने जोशीको आग्रह छ।

साभारः गतिशील न्युज