धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण फेरिएसँगै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता खगराज भट्ट नयाँ मुख्यमन्त्री बन्ने भएका छन्। निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो।
प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि शुक्रबार बिहान ११ बजेसम्म दाबी पेस गर्न समय दिएका छन्। नेकपा नेता भट्टले नेकपा एमालेको समर्थनमा तोकिएको समयभित्रै मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन्।
दाबी पेस भएपछि प्रदेश प्रमुखले शुक्रबार नै भट्टलाई मुख्यमन्त्री नियुक्त गर्ने तयारी गरिएको छ। नेकपाका एक सांसदका अनुसार बिहान ११ बजे नियुक्ति भएपछि दिउँसो ३ बजे मुख्यमन्त्रीको शपथ ग्रहण कार्यक्रम तय गरिएको छ।
मुख्यमन्त्री नियुक्त भएलगत्तै भट्टले सानो आकारको मन्त्रिमण्डल विस्तार गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन्। नेकपा र एमालेबीच मन्त्रालय बाँडफाँटमा यसअघि नै सहमति भइसकेको जनाइएको छ। सहमतिअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालयको जिम्मेवारी पाउनेछन्।
स्रोतका अनुसार एमालेले आर्थिक मामिला, सामाजिक विकास तथा वन वा कृषिमध्ये एउटा मन्त्रालयको नेतृत्व पाउनेछ।
यसअघि गत असार ३१ गते एमालेले बजेटप्रति असहमति जनाउँदै कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। समर्थन गुमेपछि दबाबमा परेका शाहले बिहीबार प्रदेशसभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिने घोषणा गरेका थिए।
त्यसपछि शाहले प्रदेश प्रमुखलाई औपचारिक रूपमा राजीनामा बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुलेको हो। अब नेकपा–एमाले गठबन्धनको समर्थनमा खगराज भट्टको नेतृत्वमा सुदूरपश्चिममा नयाँ सरकार गठन हुने भएको छ।
