धनगढी, साउन ०९ । स्वच्छ टोल, स्वस्थ समाज र सभ्य नागरिक निर्माणको पावन सङ्कल्पलाई आत्मसात् गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनगढी उपमहानगरपालिका–१३, कैलालीको आयोजनामा गोदावरी नगरपालिका–५ मा वृहत् सरसफाइ अभियान सम्पन्न गरिएको छ।
सामाजिक उत्तरदायित्व, नागरिक कर्तव्यबोध र स्वच्छ वातावरणप्रतिको जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियान प्रचारमुखी नभई कर्मप्रधान अभियान भएको आयोजकले जनाएको छ।

अभियानका क्रममा आफ्नै क्षेत्रको फोहोरप्रति सम्बन्धित निकायको उदासीनता र नागरिकको निष्क्रिय मानसिकताप्रति चिन्ता व्यक्त गरिएको छ। आफ्नै घरआँगन र टोलको सरसफाइमा उदासीन रहने प्रवृत्तिले सभ्य समाज निर्माणमा बाधा पुगेको उल्लेख गर्दै परिवर्तनको आरम्भ सरकारबाट मात्र नभई प्रत्येक नागरिकको घरको ढोकाबाट हुनुपर्ने रेखा धानुकले धारणा व्यक्त गरिएको छ।
अधिकारप्रति जति जागरूकता देखाइन्छ, कर्तव्य निर्वाहमा पनि त्यत्तिकै निष्ठा, अनुशासन र समर्पण आवश्यक रहेको अभियानमा जोड दिइएको छ। “फोहोर सडकभन्दा पनि फोहोर सोचले समाजलाई बढी प्रदूषित बनाउँछ” भन्ने मूल सन्देश प्रवाह गर्दै आफ्नै घरअगाडि, टोल र सार्वजनिक स्थललाई स्वच्छ राख्न सबै नागरिकलाई सक्रिय सहभागिताका लागि आह्वान गरिएको छ।








