October 14, 2026, Wednesday
२०८३ आश्विन २९
Nepal 1:37:26 pm
Trending
जन आवाज

शुक्लाफाँटामा निःशुल्क एकदिने आँखा शिविर सम्पन्न, ४०८ जनाले लिए सेवा

२०८३ श्रावण ९

1.2K

कञ्चनपुर- विश्व हिन्दू परिषद नेपाल कञ्चनपुर जिल्ला तथा शुक्लाफाँटा नगर कार्य समितिको संयुक्त आयोजनामा गेटा आँखा अस्पताल रुईत फाउण्डेशनको प्राविधिक सहयोग तथा शुक्लाफाँटा नगरपालिका–१० को सहयोगमा कञ्चनपुरको झलारीस्थित श्री कृष्ण माध्यमिक विद्यालयमा एकदिने निःशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ।

सामाजिक सेवाको उद्देश्यलाई आत्मसात गर्दै सञ्चालन गरिएको उक्त शिविरमा स्थानीय बासिन्दाले उत्साहजनक सहभागिता जनाएका थिए। शिविरमार्फत आँखा परीक्षण, आवश्यक परामर्श, औषधि वितरण तथा जटिल समस्या भएका बिरामीलाई थप उपचारका लागि सिफारिस गरिएको थियो।

शिविरमा १४२ जना पुरुष र २६६ जना महिला गरी कुल ४०८ जनाले निःशुल्क सेवा लिएका थिए। परीक्षणका क्रममा ३८ जनामा मोतिबिन्दुको समस्या देखिएकाले उनीहरूलाई गेटा आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाका लागि रेफर गरिएको र शिविरमा आएका सबै बिरामीलाई आवश्यकताअनुसार निःशुल्क औषधिसमेत वितरण गरिएको विश्व हिन्दू परिषद् नेपाल राष्ट्रिय सचिव महेन्द्र पन्तले जानकारी दिए ।

यसअघि पनि विश्व हिन्दू परिषद नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत साउन २ गते कैलाली जिल्लाको हसुलियामा एकदिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको थियो। दुर्गम तथा सेवाबाट वञ्चित समुदायसम्म स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको सचिव पन्तले बताएका हुन् ।

कार्यक्रमलाई सफल बनाउन शुक्लाफाँटा नगरपालिका–१० का वडा अध्यक्ष श्री लालबहादुर ऐरले विशेष सहयोग प्रदान गरेका थिए। त्यसैगरी पतञ्जलि योग समितिका अध्यक्ष तथा पूर्व प्रादेशिक अस्पतालका मेडिकल रेकर्ड अधिकृत श्री केशव अवस्थीले कार्यक्रम संयोजकको भूमिका निर्वाह गरेका थिए ।

शिविरको व्यवस्थापनमा विश्व हिन्दू परिषद नेपाल कञ्चनपुरका जिल्ला अध्यक्ष श्री गोरखबहादुर पुजारा तथा शुक्लाफाँटा नगर अध्यक्ष श्री मिठ्ठु राना सक्रिय रूपमा खटिएका थिए। कार्यक्रम सम्पन्न गराउन श्री कृष्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक श्री पिताम्बर जोशीको महत्वपूर्ण सहयोग रहेको थियो भने गेटा आँखा अस्पतालका प्राविधिक टोलीले दक्षतापूर्वक स्वास्थ्य सेवा प्रदान गरेका थिए।

निःशुल्क आँखा शिविरले स्थानीय नागरिकलाई सहज रूपमा विशेषज्ञ सेवा उपलब्ध गराउनुका साथै समयमै आँखा रोगको पहिचान र उपचारमा ठूलो योगदान पुर्‍याएको र भविष्यमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तर सञ्चालन गर्दै समुदायको स्वास्थ्य सुधारमा सहयोग पुर्‍याइने आयोजक विश्व हिन्दू परिषद्ले जनाएको छ।

भर्खरै