५ असार, काठमाडौं । नेपाली महिला फुटबलको अन्तर्राष्ट्रिय सहभागिताको इतिहासले चार दशक छोइसकेको छ । यो अवधिमा नेपालले साफ च्याम्पियनसिप देखि एसियन कपसम्म खेलिसकेको छ भने ओलम्पिक छनोट पनि खेलेको छ । यस्तै विभिन्न मैत्रीपूर्ण खेल पनि खेलेको छ ।
नेपाली महिला फुटबलरले युरोपको व्यवसायिक फुटबल समेत खेलेर कीर्तिमान बनाइसकेका छन् । तर महिला फुटबलले अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय उपाधि भने जित्न सकेको छैन, यो भने तितो सत्यको रुपमा रहेको छ ।
फेरि एक पटक महिला फुटबल अन्तर्राष्ट्रिय खेल खेल्न जाँदैछ र यस पटक अर्को विषयले चर्चामा छ । नेपालले अन्तर्राष्ट्रिय महिला फुटबलमा छिट्टै १०० खेल पूरा गर्दैछ ।
नेपाली महिला फुटबल टिम अहिले त्यही कोसेढुंगाको नजिक पुगेको छ । नेपाली महिला फुटबल टिमले अहिलेसम्म अन्तर्राष्ट्रिय स्तरमा ९९ खेल खेलिसकेको छ ।
सन् १९८६ मा महिला एसियन कपबाट अन्तर्राष्ट्रिय फुटबलमा पाइला चालेको महिला टोलीका लागि केही समयअघि भएको थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेल ९९औं खेल थियो ।
एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेल नेपाली महिला टिमको १००औं अन्तर्राष्ट्रिय खेल हुनेछ । एसियन कप छनोटमा समूह एफमा रहेको नेपालले लाओससँग पहिलो खेल यही जुन २९ मा उज्वेकिस्तानमा खेल्नेछ । छनोटमा नेपाल र लाओससँगै आयोजक उज्वेकिस्तान र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।
सन् १९८० अर्थात विसं २०३५ सालतिर नेपालमा पहिलो पटक महिला फुटबल टिम बनाइएको थियो । त्यसको ६ वर्षपछि अर्थात सन् १९८६ मा नेपाली महिला टोलीले पहिलो अन्तर्राष्ट्रिय फुटबल खेल खेलेको हो ।
सन् १९८६ डिसेम्बर १४ मा नेपालले हङकङ विरुद्ध ऐतिहासिक खेल खेलेको थियो । रमा सिंहको कप्तानीमा खेलेको नेपाल उक्त खेलमा १-० ले पराजित भएको थियो ।
चार दशक, ९९ खेल
सन् १९८६ को महिला एसियन कपबाट नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको थियो । त्यसको चार दशकपछि नेपाली महिला टोली कोशेढुंगा नजिक पुगेको हो ।
महिला फुटबल टोलीले अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय उपाधि भने जित्न सकेको छैन । अहिलेसम्म १२ फाइनल खेल्दा सबैमा उपविजेता नै बनेको छ ।
अहिलेसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न नसकेपनि नेपाली महिला टोलीले अब एक सयौँ अन्तर्राष्ट्रिय खेल खेल्दैछ र नेपाली फुटबलमा एक नयाँ कोशेढुंगा बनाउनेछ ।
सन् ८० र ९० को दशकमा नेपाली महिला टोलीले सिधै एसियन कप खेलेको थियो । नेपालले खेलेको पहिलो ठूलो प्रतियोगिता नै महिला एसियन कप थियो । तर सन् २००० देखि एक दशकको बीचमा भने नेपाली महिला फुटबल सुस्तायो । यो बीचमा नेपालले कुनै पनि अन्तर्राष्ट्रिय महिला फुटबल खेल खेलेन ।
सन् २०१० देखि भने नेपाली महिला फुटबल फेरि जुर्मुरायो । त्यसै वर्ष साफ च्याम्पियनसिप सुरु भयो भने सागमा पनि महिला फुटबलले खेल्न थाल्यो । नेपालले अहिलेसम्म ७ पटक साफ च्याम्पियनसिप खेलिसकेको छ । यस्तै ३ पटक साग खेलेको छ ।
नेपाली महिला टोलीले साफ च्याम्पियन्सिप, दक्षिण एसियाली खेलकुद (साग), ओलम्पिक छनोट, एसियन कप, एसियन गेम्स, हिरो गोल्डकप, नादेज्दा कप, वाफ च्याम्पियनसिप र विभिन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरू खेलेको छ ।
यस्तो छ ९९ खेलको तथ्यांक
नेपाली महिला फुटबल टिमले अहिलेसम्म ९९ अन्तर्राष्ट्रिय खेल खेलेको छ । त्यसमा करिब आधा खेलमा नेपाल विजयी भएको छ । नेपालले ४६ खेल जित्दा १६ खेलमा बराबरी नतिजा निकालेको छ भने ३७ खेलमा पराजित भएको छ ।
यस्तै यो अवधिमा नेपालले तीन पटक एसियन कप पनि खेलेको छ । सन् १९८६ मा पहिलो पटक एसियन कप खेलेको नेपालले सन् १९८९ र १९९९ मा पनि एसियन गेम खेलेको थियो । सन् २०१० यता भने नेपाली महिला फुटबलल धेरै खेल खेल्यो, विभिन्न प्रतियोगितामा पनि खेल्यो । तर उपाधि भने अझै जित्न सकेको छैन ।
नेपाली महिला टोली साफमा ६ पटक उपविजेता (२०१०, २०१२, २०१४, २०१९, २०२२, २०२४) बनेको छ । सुरुमा चार फाइनलमा भारतसँग पराजित भएको नेपाल पछिल्लो दुई फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।
सन् २०१६ मा भने नेपाल सेमिफाइनलबाटै बाहिरिएको थियो । यस्तै तीन पटक दक्षिण एसियाली खेलकुद (साग)मा मा उपविजेता बन्दै रजत जितेको थियो । सन् २०१०, २०१६ र २०१९ को सागमा नेपाल उपविजेता बनेको थियो । तीनै पटक भारतसँग पराजित भएको थियो ।
यस्तै सन् २०१८ को हिरो गोल्डकप, सन् २०१९ को नादेज्दा गोल्डकप र सन् २०२४ को वाफ च्याम्पियनसिपमा नेपाल उपविजेता भएको थियो । हिरो गोल्डकपमा म्यानमार, नादेज्दामा उज्वेकिस्तान र वाफमा जोर्डनसँग फाइनलमा पराजित भएको थियो ।
नेपाली महिला टोलीले सन् २०२३ मा चीनमा भएको १९औं एसियन गेम्समा समेत प्रतिस्पर्धा गरेको थियो । यस बाहेक नेपालले ओलम्पिक महिला फुटबल छनोट प्रतियोगिताहरू समेत खेलेको छ ।
नेपालले अहिलेसम्म खेलेको सबैभन्दा ठूलो टिम जापान हो । त्यसबाहेक भियतनाम, थाइल्याण्ड, उज्वेकिस्तान, म्यानमार, फिलिपिन्स, हङकङ, इन्डोनेसिया, जोर्डन, भारत जस्ता आफूभन्दा माथिको वरियताको बलियो टिमसँग पनि खेलेको छ ।









