दार्चुला:आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान विभागले जनाएको छ। यी प्रदेशका पहाडी र तराईसहित देशका अन्य पहाडी क्षेत्रमा केही स्थानहरूमा तथा मधेश प्रदेशसहितका तराईका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
आज राति देशको पहाडी भू-भागमा सामान्यतया बदली र बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ। गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्र, बागमती, लुम्बिनी र कर्णालीका पहाडी भू-भागका केही स्थानहरूमा र मधेश प्रदेशसहितका अन्य पहाडी तथा तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको छ।
मौसम विश्लेषणअनुसार, मनसुनको न्यून चापीय रेखा हाल पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर अवस्थित छ। यस कारण पूर्वी नेपालभन्दा पश्चिमी नेपालतर्फ मनसुन बढी सक्रिय रहने देखिएको छ।









