धनगढी – सामाजिक सञ्जालको दुरुपयोग गर्दै नाबालिकाको चरित्र हत्या गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। महिलाको नाम र तस्बिर प्रयोग गरी फेक फेसबुक एकाउन्ट बनाइ नवबालिकासँग मित्रता गाँस्ने, विश्वास जित्ने र त्यसपछि विभिन्न प्रलोभन, दबाब तथा प्रभावमा पारी निजको निजी तस्बिर तथा भिडियो माग गर्ने जस्ता अश्ल्लि गतिविधिमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको साइबर ब्यूरोले जनाएको छ।
ब्यूरोका अनुसार सामाजिक सञ्जालमा निरन्तर कुराकानी गर्दै नाबालिकालाई मानसिक रूपमा प्रभावित पारेर अश्लील तस्बिर तथा भिडियो लिनुका साथै ती सामग्रीलाई पीडित नाबालिकाको विद्यालयका साथीहरू तथा आफन्तजनको सामाजिक सञ्जालमा पठाइ चरित्र हत्या गर्ने प्रयास गरिएको थियो। यसबाट नाबालिकामा गम्भीर मानसिक तनाव उत्पन्न भएको र सामाजिक रूपमा समेत अपमानित हुने अवस्था सिर्जना भएको जानकारी आएको र त्यसपछि निजलाई पक्राउ गरिएको जनाएको छ।
घटनापछि पीडित नाबालिकाका अभिभावकले आवश्यक कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका थिए। उजुरीका आधारमा गरिएको प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट कैलाली जिल्ला, धनगढी उप–महानगरपालिका वडा नं. १२ जुगेडा डि गाउँ निवासी २७ वर्षका सन्दीप चन्दको संलग्नता खुलेको प्रहरीले जनाएको छ।
उक्त घटनामा संलग्न चन्दलाई विद्युतीय (इलेकट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पौष ३ गते पक्राउ गरेको हो।
प्रहरीले सामाजिक सञ्जाल प्रयोग गर्दा विशेष सतर्कता अपनाउन, अपरिचित व्यक्तिसँग निजी तस्बिर तथा सूचना आदानप्रदान नगर्न र यस्ता किसिमका घटनाहरू भएमा तुरुन्तै नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई आग्रहसमेत गरेको छ। विशेष गरी नाबालिकाको सुरक्षा र गोपनीयता संरक्षण सबैको साझा दायित्व भएकाले अभिभावक तथा विद्यालयले समेत सचेतना बढाउनुपर्नेमा प्रहरीले जोड दिएको छ।









