April 29, 2026, Wednesday
२०८३ बैशाख १६
Nepal 1:37:26 pm
Trending
Puskar Joshi

धनगढीमा कलेज पढ्ने युवा कर्मकाण्ड सिक्दै

२०८२ माघ १७

685

 

 

धनगढी ः धनगढीमा पुरोहित तालिम गरिरहेका डोटीको आदर्श गाउँपालिका–३ का चन्द्रदेव भट्ट एमविएस अध्ययन गरिरहेका छन्। उनी पनि पुरोहितको प्रशिक्षण लिइरहेका छन्। उनले कर्मकाण्ड सिक्नुपर्ने ठानेर तालिम गर्न आएको बताए। तालिमले विधि विधान र शास्त्रसम्मत तरिकाले पूजा–पाठ गराउन सक्ने पुरोहित बन्नेमा भट्ट ढुक्क छन्। उनले भने, ‘मैले पुरोहित काम सिक्ने इच्छा जागेर नै आवेदन दिएको थिएँ, चार नम्बर वैकल्पिकमा नाम थियो र अहिले तालिम गरिरहेको छु, गुरूहरूले राम्रोसँग सिकाइ राख्नु भएको छ, धनगढी उपमहानगरपालिकाप्रति आभारी छु।’

 

यस्तै बझाङको थलारा गाउँपालिका–५ का खगेन्द्रप्रसाद उपाध्याय धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा बिबिएस दोस्रो वर्षका विद्यार्थी हुन्। उनी पनि कर्मकाण्ड सिक्न दिनहुँ सिप तथा रोजगार मेलामा आउने गरेका छन्। उनले रोजगार मेला मार्फत तालिम लिने अवसर पाएकोमा उपमहानरपालिकाका मेयर हमाललाई धन्यवाद दिएका छन्।

 

कैलालीको जानकी गाउँपालिका–३ भगतपुरका नृपराज उपाध्याय पुरोहितकै काम गर्छन् तर कर्मकाण्ड सम्बन्धी सबै विधि सिक्न तालिम सहयोगी हुने उनले बताए। ’पिता जीले गर्दै आएको काम मैले गर्न थालेको थिएँ तर सबै कुरा राम्रोसँग आउँदैनथ्यो, धनगढीका मेयरसाबले तालिम गर्ने मौका दिँदा निकै खुसी लागेको छ,’ उनले भने, ’यस्तो तालिम अन्य पालिकाले पनि दिन सके धेरैलाई सहयोग हुन्थ्यो।’

 

सिप तथा रोजगार मेलामा यो वर्ष पुरोहितमा २५ जना प्रशिक्षार्थी सहभागी छन्। ४० दिनसम्म उनीहरूलाई गुरूहरूले कर्मकाण्ड सम्बन्धी सबै कुरा सिकाउने छन्।

 

धनगढी उपमहानगरपालिका २५ जनालाई पुरोहित तालिम दिँदै

 

हिन्दु धर्ममा मानव जीवनलाई शुद्ध, अनुशासित र संस्कारित बनाउन जन्मदेखि मृत्युसम्म विभिन्न धार्मिक संस्कारहरू गर्ने परम्परा रहेको छ। यी संस्कारलाई ‘सोह्र संस्कार’ भनिन्छ, जसले व्यक्तिको जीवन यात्रालाई आध्यात्मिक र नैतिक मार्गमा अघि बढाउन सहयोग गर्ने विश्वास गरिन्छ।

 

सोह्र संस्कारअन्तर्गत गर्भाधानदेखि सुरु भएर नामकरण, अन्नप्राशन, चूडाकर्म, उपनयन, विवाहजस्ता संस्कारहरू पर्दछन्। जीवनको अन्तिम चरणमा अन्त्येष्टि संस्कार गरिन्छ, जसलाई मृत्युपछिको अन्तिम कर्तव्य मानिन्छ।

 

धार्मिक विद्वानहरूका अनुसार यी संस्कारहरूले मानिसलाई सामाजिक जिम्मेवारी, संस्कारशीलता र धर्मप्रतिको आस्था बलियो बनाउन मद्दत गर्दछ। आधुनिक समयमा केही संस्कारहरू सरल रूपमा गरिए पनि हिन्दु समाजमा यसको सांस्कृतिक र धार्मिक महत्व अझै कायम रहेको छ।

 

सरकारले नै संस्कृत विषय हटाएपछि कर्मकाण्ड गर्ने जनशक्ति तयार हुन बाधा पुगेको छ। बसाइँसराइले गर्दा समेत पुस्तौनी थलो र पेशाबाट मानिसले पलायन हुने अवस्था निर्माण भएको छ।

 

तर धनगढी उपमहानगरपालिकाले भने गत वर्षबाट सुरु गरेको सिप तथा रोजगार मेलामा पुरोहित तालिम दिन थालेको छ। रोजगार मेलामा गत वर्ष झै यो वर्ष २५ जनाले पुरोहित तालिम लिइरहेका छन्। उपमहानगरपालिकाले पुरोहित तालिम दिन थालेकाले जन्मदेखि मृत्युसम्मका संस्कार गर्न सक्ने जनशक्ति तयार हुन थालेको प्रशिक्षकसमेत रहेका शास्त्री प्रजापति शर्मा अवस्थीको भनाइ छ।

 

अवस्थीले २५ जना प्रशिक्षार्थीलाई पुरोहितको तालिम दिइरहेका छन्। दुई जना प्रशिक्षकले ४० दिनसम्म २५ जना प्रशिक्षार्थीलाई कर्मकाण्ड गर्न सिकाउने छन्। वेद मन्त्रको शुद्ध उच्चारण गर्न र कर्मकाण्ड गराउने शास्त्रीय विधि सिकाउन पाउँदा निकै खुसी लागेको अवस्थीले बताए।

 

’धनगढी उपमहानगरपालिकाले पुरोहित तालिम राखेको छ। हामीले प्रशिक्षार्थीलाई कर्मकाण्ड गराउँदा तयार गर्नुपर्ने पूजा सामग्री, वेदी निर्माण, कर्मपात्रको तयारी र वैदिक मन्त्रहरूको सही प्रयोग र शुद्ध उच्चारण सिकाइ रहेका छौँ,’ उनले भने, ‘उपमहानगरपालिकाले पुरोहित तयार गर्न दिएको तालिम निकै राम्रो छ। सबै उमेर समूहका प्रशिक्षार्थी सहभागी छन्। यसले परम्परा जगेर्ना गर्छ र स्वरोजगार हुने अवसर पनि दिन्छ।’

 

धनगढी उपमहानगरपालिकाले यो वर्ष २२ किसिमका तालिममा सुदूरपश्चिमका ६ सय जनालाई रोजगारमूलक तालिम दिइरहेको छ। गत वर्षबाट सुरु भएको सिप तथा रोजगार मेला हरेक वर्ष आयोजना हुने उपमहानगरपालिकाले जनाएको छ।