April 29, 2026, Wednesday
२०८३ बैशाख १६
Nepal 1:37:26 pm
Trending
जन आवाज

बेलौरीमा नि:शुल्क आँखा शिविर सम्पन्न : ४०८ जना लाभान्वित, ६४ जनाको शल्यक्रिया गरिने

२०८२ माघ २४

685

धनगढी – विश्व हिन्दू परिषद नेपाल, सुदूरपश्चिम प्रदेश अंन्तरगत कञ्चनपुर जिल्लाको बेलौरी नगर कार्यसमितिको आयोजनामा बेलौरी नगरपालिका वडा नं ९ मा एक दिवसीय नि:शुल्क आँखा शिविर भव्य रूपमा सम्पन्न भएको छ।

गेटा आँखा अस्पतालको प्राविधिक सहयोग र बेलौरी नगरपालिका वडा नं ९ का वडा अध्यक्ष किसन रानाजीको विशेष पहल तथा व्यवस्थापकीय सहयोगमा सञ्चालित उक्त शिविरमा स्थानीय जनमानसको उत्साहजनक उपस्थिति रहेको थियो।

ग्रामीण भेगका नागरिकहरूलाई घरदैलोमै सहज स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले आयोजित यस शिविरबाट कुल ४०८ जना सर्वसाधारणले प्रत्यक्ष लाभ उठाएका छन्। परीक्षण गरिएकामध्ये १४३ जना पुरुष र २६५ जना महिलाले विशेषज्ञ चिकित्सकहरूबाट आँखाको स्वास्थ्य जाँच गराएको नेपाल सुदूरपश्चिम प्रदेश सम्बाहक अध्यक्ष महेन्द्रराज पन्तले बताए।

शिविरमा आँखा परीक्षणका क्रममा जटिल समस्या देखिएका र तत्काल शल्यक्रिया आवश्यक भएका ६४ जना बिरामीहरूलाई पहिचान गरी थप उपचारका लागि गेटा आँखा अस्पतालमा रिफर गरिएको समेत उनले बताएका छन् । आँखाको दृष्टिमा समस्या भएका बिरामीहरूलाई राहत पुर्‍याउने हेतुले शिविर स्थलमै १४३ जनालाई अत्यन्तै सुपथ मूल्यमा गुणस्तरीय चश्मा वितरण गरिएको थियो भने आँखाको सामान्य समस्या भएका ३५१ जना बिरामीहरूलाई आवश्यक औषधिहरू पूर्ण रूपमा नि:शुल्क उपलब्ध गराइएको थियो।

वडा अध्यक्ष किसन रानाको सक्रियता र स्थानीय व्यवस्थापनका कारण शिविर निकै व्यवस्थित र प्रभावकारी भएको अध्यक्ष पन्तको भनाइ रहेको छ ।

यस मानवीय कार्यले विपन्न तथा पहुँचविहीन नागरिकहरूको दृष्टि जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै आयोजक समितिले प्राविधिक टोली उपलब्ध गराउने गेटा आँखा अस्पताल, पहलकर्ता वडा अध्यक्ष राना, र शिविर सफल पार्न अहोरात्र खटिने स्वयम्सेवक तथा सहयोगी सबैमा हार्दिक कृतज्ञता र धन्यवाद ज्ञापन गरेको छ। आफ्नै वडामा विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्दा स्थानीय बासिन्दाहरूले खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता परोपकारी कार्यक्रमहरूले निरन्तरता पाउने आशा व्यक्त गरेका छन्।