धनगढी– सामाजिक, धार्मिक, सांस्कृतिक र पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने भरत विक्रम शाह आज सुदूरपश्चिमका युवाका लागि प्रेरणाको स्रोत बन्नु भएको छ । हिजो उहाँलाई राइजिङ स्टार बोर्डिङ स्कुल, धनगढीले सम्मान गरेको हो । विद्यालयले आफ्नो वार्षिकोत्सवमा प्रमुख अतिथि तथा प्रदेश नीति तथा योजना आयोग सुदूरपश्चिम प्रदेश सचिव गणेश बहादुर सिंह र विद्यालयका प्रधानाध्यापक हरिशचन्द्र शाहीले खादा, माला दोसल्ला र सम्मान पत्र सहित शाहलाई सम्मान गरेको हो।
शाह गोदावरी नगरपालिका–८ मा २०३७ सालमा जन्मीनु भएका शाहलाई विद्यालयले सामाजिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा योगदान पु¥याएको र पर्यटन प्रवर्धनमा गरेको विशेष योगदानका लागि सम्मान गरेको जनाएको छ ।
उहाँले सुदूरपश्चिमका गुमनाम र लुकेका पर्यटन स्थलहरू उजागर गर्दै आउनु भएको छ । उहाँले ४,२०० मिटरको उचाइमा रहेको बडिमालिका मन्दिरसम्म साइकल पु¥याउनु भएको र उहाँको यात्रामा खिचिएका भिडियो र तस्बिरहरूले बडिमालिका जाने बाटो अप्ठ्यारो छ भन्ने भ्रम तोडेको पाइन्छ जुन अझै पनि फारवेस्र्टन राइडर युटुवमा हेर्न सकिन्छ ।
उहाले परिचित स्थलहरू मात्र नभई सुदूरपश्चिमका लुकेका गन्तव्यहरूलाई पनि उजागर गर्नु भएको छ । गुमनाम रहेको अहिलेको भाइरल झरना बुडर झरना, खप्तड, आलिताल, बडिकेदार, शुक्लाफाँटा, दोधारा चाँदनी, लिङ्गा तथा कैलाली कञ्चनपुर र सुपको अग्लो हिमाल अपी लगायतलाई उहाँले विभिन्न माध्यमबाट प्रस्तुत गर्नु भएको छ ।
उहाँले अमेरिका, युरोप, अस्ट्रेलिया लगायतका विभिन्न देशका १०० भन्दा बढी साइकल यात्रीलाई सुदूरपश्चिम घुमाइसक्नु भएको छ । उहाँ ‘टुर दी खप्तड’, ‘टुर दी फारवेस्ट’ जस्ता कार्यक्रम आफ्नै पहलमा आयोजना समेत गर्नुभएको छ ।
उहाँको अभियानले सुदूरपश्चिमको पर्यटन प्रवर्धन मात्र गरेको छैन, स्थानीय युवामा साहस, स्वास्थ्य र आत्मनिर्भरता बढाउने प्रेरणा पनि दिएको छ।
विद्यालयले प्रदान गरेको सम्मान पत्र र उहाँको सक्रिय योगदान दुवैले युवामा प्रेरणा जगाएको छ । उहाँ साइकल यात्री मात्र नभएर, स्थानीय गन्तव्यको दूत, समाज सुधारक र पर्यटन प्रवर्धकको रूपमा परिचित हुनुहुन्छ ।
उहाँको कथाले देखाउँछ कि व्यक्तिगत सङ्घर्ष, साहस र सृजनशील प्रयासले समाजमा कस्तो ठुलो योगदान दिन सक्छ । उहाँ आजका युवाका लागि मात्र होइन, सम्पूर्ण समुदायका लागि प्रेरणाको स्रोत बन्नु भएको छ ।





