ललितपुर, २२ फागुन । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाकाे ज्ञानज्योति आधारभूत विद्यालयमा महिला स्वास्थ्य शिविर आयोजना हुने भएको छ।
विदेशमा बसेका नेपालीको योगदानमार्फत स्वदेशको स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने उद्देश्यसहित एनआरएनए मेडिहेल्थ सेन्टर (NRNA MediHealth Center) को आयोजनामा उक्त शिविर सञ्चालन गर्न लागिएको हो।
आयोजकका अनुसार स्वास्थ्य शिविर फागुन २४ गते आइतबार ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–दल्चोकीस्थित ज्ञानज्योति आधारभूत विद्यालयको प्राङ्गणमा सञ्चालन गरिनेछ। शिविरमा विशेषगरी महिलासम्बन्धी स्वास्थ्य परीक्षण र परामर्श सेवा प्रदान गरिने जनाइएको छ।
शिविरमा डा. अरुण शाही, डा. विभूति शाही, डा. विपिन पौडेल र डा. गरिमा गिरी लगायतका चिकित्सकहरूले सेवा दिने कार्यक्रम तय गरिएको छ। उनीहरूले स्त्रीरोग, सामान्य स्वास्थ्य जाँच तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउनेछन्।
कार्यक्रमको स्थानीय व्यवस्थापन देउराली फाउण्डेसन, श्री मर्सवाली महिला कृषि सहकारी संस्था दल्चोकी, श्री ज्ञान ज्योति आधारभूत विद्यालय र तामाङ पत्रकार संघले गर्नेछन्।
आयोजकले विशेषगरी ग्रामीण क्षेत्रका महिलाहरूलाई लक्षित गर्दै स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रम सञ्चालन गर्न लागिएको बताउँदै स्थानीय महिलाहरूलाई शिविरमा सहभागी हुन आग्रह गरेका छन्।








