July 30, 2026, Thursday
२०८३ श्रावण १४
Nepal 1:37:26 pm
Trending
जन आवाज

बझाङको एक गाउँपालिकाका निमित्त प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२०८२ चैत्र १०

350

काठमाडौँ : बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाको वडा नम्बर–९ स्थित बागथला धारी डोबा सडकमा सिँचाइ क्यानल तथा ह्युम पाइप कल्भर्ट निर्माण गर्दा भ्रष्टाचार गरेको ठहर गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो।

निर्माण कार्यका क्रममा फिल्डमा काम नभएको तथा कम काम भएको अवस्थामा पनि बढी काम भएको देखाई झुट्टा बिल भरपाईका आधारमा भुक्तानी दिने र लिने कार्य गरी भ्रष्टाचार गरिएको हो। यसरी सरकारी रकम गैरकानुनी रूपमा लाभ वा हानी पु¥याउने उद्देश्यले भुक्तानी दिएको आयोगको दाबी छ।

प्रतिवादी बनाइएकामा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत भट्टसहित अन्य कर्मचारी र निर्माणसँग सम्बन्धित पाँच जना रहेका छन्। उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) एवं सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिमको कसुरमा कारबाहीको माग गरिएको छ।

आयोगले उनीबाट आठ लाख ४८ हजार ९६२ रुपियाँ २२ पैसा बिगो कायम गरी सोही बमोजिम जरिवाना र कैद सजायको मागदाबी गरेको छ। साथै उक्त बिगोसमेत असुल उपर गर्न माग गरिएको आयोगले जनाएको छ।