June 1, 2026, Monday
२०८३ जेष्ठ १८
Nepal 1:37:26 pm
Trending
जन आवाज

‘संवादमार्फत अनुकूल वातावरण’ परियोजना सुरु

२०८३ जेष्ठ ५

130

धनगढीः “संवादमार्फत महिलाको आर्थिक उन्नतिका निमित्त अनुकूल वातावरणको सृजना” परियोजना सञ्चालनमा ल्याइएको छ।

प्रो पब्लिक “जनहित संरक्षण मञ्च” संस्थाको आयोजना तथा धनगढी उपमहानगरपालिकाको समन्वयमा उक्त परियोजनाको सुरु गरिएको हो। महिलाको आर्थिक उन्नतिका लागि अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाकी नगर उपप्रमुख कन्दकला कुमारी रानाले परियोजनाको सुरुवात गरिएको छ।

कार्यक्रममा महिलाहरूलाई आर्थिक क्षेत्रसँग जोड्ने, उनीहरूको पहुँच विस्तार गर्ने तथा हक–अधिकारबारे सचेत बनाउने परियोजनाको मुख्य उद्देश्य रहेको बताइएको छ। अध्यक्षता गर्दै उपप्रमुख रानाले महिलाहरूको आर्थिक क्षेत्रमा पहुँच अपरिहार्य रहेको बताइन्। उनले सुदूरपश्चिमका महिलाहरू अझै पनि पछाडि परेको अवस्था रहेको उल्लेख गर्दै जातीय विभेदसमेत पूर्ण रूपमा न्यूनीकरण हुन नसकेको धारणा राखिन्।

परियोजनाका कार्यकारी निर्देशक बाबुराम पौडेलले सुदूरपश्चिमका विभिन्न जिल्लासँगै कर्णाली प्रदेशका जिल्लाहरूमा समेत महिलाको आर्थिक सशक्तीकरण र अधिकार सुनिश्चित गर्ने लक्ष्य राखिएको बताए।

विशेषगरी वैदेशिक रोजगारीमा रहेका पुरुषका श्रीमतीहरूलाई लक्षित गर्दै घरको आर्थिक पाटो मजबुत बनाउने कार्यक्रम सञ्चालन गरिने उनले जानकारी दिए। महिलाहरू पनि आर्थिक रूपमा सक्रिय, सक्षम र आत्मनिर्भर बन्न सक्छन् भन्ने आत्मविश्वास बढाउन परियोजनाले विशेष भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

परियोजनाअन्तर्गत महिलाहरूलाई समय–समयमा संवाद, परामर्श तथा सकारात्मक सोच विकासका कार्यक्रममार्फत सही निर्णय लिन सक्षम बनाइने बताइएको छ। साथै, समाजसँग जोडेर महिलाहरूलाई उचित अवसर तथा नेतृत्व विकासतर्फ प्रेरित गरिनेछ।
आयोजकका अनुसार महिलाको सशक्तीकरणमार्फत परिवार र समाजमा सकारात्मक परिवर्तन ल्याउन यो परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।