October 25, 2026, Sunday
२०८३ कार्तिक ९
Nepal 1:37:26 pm
Trending
जन आवाज

रास्वपा कैलालीको जिल्ला अधिवेशन अवैधानिक

२०८३ जेष्ठ ३१

375

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचन प्रक्रिया र त्यसबाट घोषित सम्पूर्ण नतिजा बदर गर्ने निर्णय गरेको छ।
आयोगका प्रमुख भुवन केसीद्वारा जारी पत्रमा कैलाली जिल्ला अधिवेशनका क्रममा सम्पन्न निर्वाचन प्रक्रिया विधान तथा निर्वाचन कार्यविधिविपरीत भएको निष्कर्ष निकाल्दै सम्पूर्ण निर्वाचन प्रक्रिया र परिणाम रद्द गरिएको जनाइएको छ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार निर्वाचन प्रक्रियामा न्यूनतम आधारभूत विधि र प्रक्रिया पालना नभएको, मतदान तथा मतगणनामा स्थापित नियम उल्लंघन भएको, अधिकांश मुख्य उम्मेदवारहरूले लिखित असहमति जनाउँदै निर्वाचन बहिष्कार गरेको तथा योग्य सदस्य र प्रतिनिधिहरूको सहभागिता सुनिश्चित नभएको पाइएको छ।
आयोगले यस्ता गैरप्रक्रियागत र विधानविपरीतका कार्यले निर्वाचनको निष्पक्षता र वैधता खण्डित भएको ठहर गर्दै कैलाली जिल्ला अधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रिया र त्यसबाट घोषित नतिजा पूर्ण रूपमा बदर गर्ने निर्णय गरेको जनाएको छ।
यसअघि विवादकाबीच सम्पन्न निर्वाचनबाट कविन्द्र ठकुल्ला जिल्ला सभापतिमा निर्वाचित भएका थिए। सभापतिका अर्का उम्मेदवार महेश कुमार चौधरी ले ३७ मत र हरि रेग्मीले २२ मत प्राप्त गरेका थिए।
तर निर्वाचनअघि नै अध्यक्षका उम्मेदवार हरी रेग्मी र महेश चौधरीले निर्वाचन समिति अवैधानिक रहेको तथा मतदाता नामावलीमा धाँधली भएको आरोप लगाउँदै निर्वाचन प्रक्रिया बहिष्कार गरेका थिए। उनीहरूले निर्वाचन रोक्न माग गर्दै उजुरीसमेत दिएका थिए।
केन्द्रीय निर्वाचन आयोगले प्राप्त उजुरी र संलग्न प्रमाणहरूको अध्ययनपछि निर्वाचन प्रक्रिया त्रुटिपूर्ण रहेको निष्कर्ष निकालेको हो।
आयोगले अब कैलालीमा पुनः निष्पक्ष, पारदर्शी र विधिसम्मत ढंगले निर्वाचन सम्पन्न गर्न छिट्टै नयाँ कार्यतालिका सार्वजनिक गर्ने तथा केन्द्रीय प्रतिनिधि टोली खटाउने जनाएको छ। यससँगै कैलाली जिल्ला समितिको नेतृत्व चयनका लागि फेरि निर्वाचन हुने भएको छ।

भर्खरै