July 26, 2026, Sunday
२०८३ श्रावण १०
Nepal 1:37:26 pm
Trending
जन आवाज

रगतको अभाव टार्न घुम्ती रक्तदान शिविर

२०८३ असार ३२

455

धनगढी : कैलालीमा रगतको अभाव टार्न घुम्ती रक्तदान शिविरको आयोजना गरिएको छ। रक्त सञ्चार केन्द्र धनगढीमा रगतको अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले जिल्लाका विभिन्न स्थानमा घुम्ती रक्तदान शिविर सञ्चालन गरेको हो।

नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका शाखा विकास अधिकृत नरेन्द्र भट्टका अनुसार आज आयोजित घुम्ती रक्तदान शिविरमार्फत जिल्लाका विभिन्न स्थानबाट रगत सङ्कलन गरिएको छ। शाखाका सभापति लोकराज जोशीले कैलाली जिल्लाभित्र रहेका उपशाखाहरूको समन्वयमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा ४६ जनाले रक्तदान गरेको जानकारी दिए। उनले रगतको अभावलाई न्यूनीकरण गर्न यस्ता अभियानलाई निरन्तरता दिइने बताए।

यस्तै, धनगढी सिटी हस्पिटल एण्ड ट्रमा सेन्टरले अस्पताल उद्घाटनको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गरेको छ। अस्पतालका सञ्चालक कृष्णबहादुर बोहराका अनुसार उक्त कार्यक्रममा २४ जनाले रक्तदान गरेका छन्।

घुम्ती रक्तदान शिविर र अस्पतालस्तरीय रक्तदान कार्यक्रमबाट गरी आज कुल ७० युनिट रगत सङ्कलन भएको छ। रगतको अभाव भइरहेको अवस्थामा भएको यस अभियानले बिरामीहरूको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ। हाल धनगढीमा दैनिक ६०र६५ पिन्ट रगतको खपत रहेको रक्तसञ्चार केन्द्रले जानकारी दिएको छ ।

नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाले स्वस्थ नागरिकलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गर्दै आवश्यक पर्दा जीवन बचाउने अभियानमा सहभागी हुन सबैलाई आह्वान गरेको छ।