September 4, 2026, Friday
२०८३ भाद्र १९
Nepal 1:37:26 pm
Trending
जन आवाज

भोटेकोशीमा प्राकृतिक विपद् : धनगढीमा मृतकप्रति श्रद्धाञ्जली, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना

२०८३ भाद्र १३

1.2K

धनगढी- भोटेकोशीमा आएको विनाशकारी प्राकृतिक प्रकोपमा परी ज्यान गुमाएका सम्पूर्णप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

प्राकृतिक विपद्का कारण भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै विश्व हिन्दू परिषद् नेपालले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा दीप प्रज्वलनसहित श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो।

धनगढीस्थित जेन्जी मार्ग (पार्क मोड) मा विश्व हिन्दू परिषद् नेपाल केन्द्रीय सचिव महेन्द्रराज पन्तको संयोजकत्वमा आयोजित कार्यक्रममा परिषद्का पदाधिकारी, सदस्य तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको थियो भने सहभागीहरूले एक मिनेट मौनधारण गरी मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

कार्यक्रममा प्राकृतिक प्रकोपका कारण ज्यान गुमाएका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै विपद्मा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो। साथै, विपद्का कारण प्रभावित भएका परिवार तथा समुदायलाई आवश्यक सहयोग र राहत उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको थियो।

विपद् कुनै एक व्यक्ति, संस्था वा समुदायको मात्र समस्या नभई सबैको साझा पीडा भएकाले यस्तो कठिन परिस्थितिमा मानवीय भावना र सहयोगको भावनासहित आ–आफ्नो क्षेत्रबाट सबैले सक्दो सहयोग गर्न विश्व हिन्दू परिषद् केन्द्रीय सचिव महेन्द्रराज पन्तले अनुरोध गरे ।

कार्यक्रममा सहभागीहरूले विपद्का समयमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा राज्यका निकाय, सामाजिक संघ–संस्था तथा आम नागरिकबीच सहकार्य र एकताको आवश्यकता रहेको बताएका थिए। संकटमा परेका नागरिकलाई साथ दिन सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्नेमा समेत जोड दिइएको थियो ।