अनेरास्ववियू (क्रान्तिकारी)ले स्वीकृतिबिना लामो समय तालिम सञ्चालन गर्ने प्राविधिक कलेज र इन्स्टिच्युटलाई कारबाही गर्न माग गरेको छ ।
आज एक प्रेस विज्ञप्ति जारी गर्दै अनेरास्ववियू (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समिति यस्तो माग गरेको हो । प्रदेश अध्यक्ष वीरबहादुर थापाद्वारा जारी विज्ञप्तिमा कैलाली र कञ्चनपुरमा सञ्चालित केही प्राविधिक कलेज र ईन्स्टिच्युटहरूले छोटो समयको तालिमको स्वीकृति लिएर लामो समयको कोर्ष सञ्चालन गरिरहेको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ ‘केही प्राविधिक कलेज र ईन्स्टिच्युटहरूले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभीटी) वा नेपाल सरकारको सम्बन्धित निकायबाट ३९०, ४२० वा ७२० घण्टाको छोटो तालिमको मात्र स्वीकृति प्राप्त गरेका छन् । तर ती संस्थाहरूले ती तालिमलाई १८ महिने वा ३ वर्षे कोर्षको रूपमा सञ्चालन गर्दै मनपरी ढंगले अत्यधिक शुल्क असुल्दै आएको तथ्य उजागर भएको छ ।’
सबैभन्दा बढी होटेल मेनेजमेन्ट (एचएम)को नाममा यो अनियमितता देखा परेको छ । यी संस्थाहरूले आफूहरू विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज भएको भ्रम सिर्जना गर्दै विद्यार्थी र अभिभावकलाई ठगी गरिरहेका छन्’ विज्ञप्तिमा भनिएको छ– ‘तर ती विदेशी विश्वविद्यालयहरू न नेपाल सरकारको कुनै निकायमा दर्ता छन्,न त प्रमाणिकरूपमा मान्यता प्राप्त नै छन् । विदेशी विश्वविद्यालयको नामको आवरणमा गरिएको शुल्क असुली पूर्ण रूपमा गैरकानुनी छ ।’
सम्बन्धित सरकारी निकाय पूर्णतः उदासीन देखिनु अत्यन्त दुःखद विषय भएको,कतिपय कलेजहरूले +२ तहका विद्यार्थीलाई छात्रवृत्तिको प्रलोभन,ट्युसन फ्री आदि जस्ता लोभलाग्दा नाराबाट विद्यार्थी भर्ना गराउने र पछि उनीहरूलाई आर्थिक तथा शैक्षिक रूपमा शोषण गर्ने कार्य गरिरहेको पनि विज्ञप्ति उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ ‘अखिल (क्रान्तिकारी) यस्ता अवैध, अपारदर्शी र शोषणकारी शैक्षिक संस्थाहरूको तत्काल निगरानी, अनुसन्धान तथा कानूनी कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछ ।’









