April 29, 2026, Wednesday
२०८३ बैशाख १६
Nepal 1:37:26 pm
Trending
जन आवाज

सुदूरपश्चिममा मनसुन सक्रिय, चट्याङसहित मुसलधारे वर्षाको सम्भावना

२०८२ असार ३०

1.5K

दार्चुला, असार ३० — नेपालमा सक्रिय मनसुनी प्रणालीका कारण सुदूरपश्चिम प्रदेशमा वर्षा तीव्र बन्ने संकेत देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार दिएको जानकारी अनुसार, सुदूरपश्चिमका अधिकांश स्थानमा आकाश सामान्यदेखि पूर्ण बदली रहनेछ भने चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना उच्च रहेको छ।

महाशाखाका अनुसार एक–दुई स्थानमा मुसलधारे वर्षा (भारी वर्षा) पनि हुनसक्ने पूर्वानुमान गरिएको छ। मौसमको यस्तो स्थितिका कारण नागरिकलाई सतर्क रहन र दैनिक गतिविधि तय गर्दा विशेष सावधानी अपनाउन सुझाव दिइएको छ।

आज रातिसमेत प्रदेशका अधिकांश भू–भागमा बदली हुने र विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा जारी रहने सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भेगमा भने वर्षासँगै हिमपातको सम्भावना समेत रहेको जनाइएको छ।

मनसुनको न्यून चापीय रेखा हाल पूर्वी नेपालमा सरदर स्थानको आसपास र पश्चिमी नेपालमा सरदरभन्दा केही उत्तरतिर सरेको अवस्थामा रहेको जनाइएको छ। यही कारणले सुदूरपश्चिमसहित देशभर वर्षाको गतिविधि सक्रिय भएको हो।

बाढी, पहिरो तथा सवारी अवरोधजस्ता जोखिमलाई मध्यनजर गर्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले स्थानीय प्रशासन र आम नागरिकलाई आग्रह गरेको छ।