April 29, 2026, Wednesday
२०८३ बैशाख १६
Nepal 1:37:26 pm
Trending
जन आवाज

गीत भाइरल हुँदा बधाई, तर तुइनबाट मान्छे खस्दा मौनता? प्रधानमन्त्रीप्रति दार्चुलाबाट प्रश्न

२०८२ श्रावण १

1.9K

दार्चुला: दार्चुलाबाट युवा नरेश प्रसाद जोशीले प्रधानमन्त्री केपी शर्मा ओली प्रति कडा प्रश्न गरेका छन्। किन सरकार जनताको पीडामा मौन रहन्छ? किन गीत भाइरल हुँदा फेसबुकमार्फत बधाई दिने समय हुन्छ, तर नागरिकहरूको ज्यान गइरहेका विषयमा चुप लागिन्छ?

केही महिना अघिको घटना स्मरण गर्दै जोशीले स्मरण गराएका छन् “एकजना नागरिक गम्भीर समस्या लिएर प्रधानमन्त्रीज्यूलाई भेट्न गएका थिए। तर उहाँलाई सजिलैसँग भेट्न दिइएन। आलोचना बढेपछि बल्ल केही दिनपछि भेट भएको थियो। तर उता टिकटकरहरूलाई भने आफैं बोलाई बोलाई, स्वागत गरी गरी भेटियो।”

जोशीको प्रश्न छ प्रधानमन्त्रीज्यू, तपाईंको समय गीत भाइरल हुँदा त हुन्छ, फेसबुकमा बधाई लेख्न त पुग्छ, तर दार्चुलामा पटकपटक तुइनबाट मान्छेहरू खस्दा, ज्यान गुमाउँदा तपाईं किन मौन बसिरहनुहुन्छ?

“तपाईंले पहिलोपटक प्रधानमन्त्री बन्नुहुँदा देशलाई तुइनमुक्त बनाउँछु भन्नुभएको थियो। तर खै त्यो बोली? खै त्यो योजनाको कार्यान्वयन? तुइनका कारण २०५० सालदेखि २०८२ अषाढसम्म २३ जना नागरिकले ज्यान गुमाइसके। हिजो मात्रै २८ वर्षीय नारायण बुढाथोकी तुइनबाट खसेर बेपत्ता हुनुभयो। तपाईंको नजरमा अझै दार्चुला पर्न सकेन?”

जोशीले भने “भारतले पटकपटक नेपालको भूमि मिच्दा तपाईं चुप लाग्नुहुन्छ। विदेश भ्रमण गर्न समय हुन्छ, भारत घुम्न जान समय हुन्छ। तर दार्चुलाको अवस्था बुझ्न, सीमाको निरीक्षण गर्न, यहाँको जनताको पीडा सुन्न किन समय हुँदैन?”

उनको प्रश्न छ “के दार्चुला जिल्ला बेचिएको हो? नत्र त बारम्बारको अपमान र अन्यायमा चुप लाग्ने कुरा स्वाभाविक हुँदैन। यदि होइन भने, आवाज उठाउनुहोस्। पीडामा साथ दिनुहोस्। जनताको विश्वास गुम्न नदिनुहोस्।”

यस्ता प्रश्नहरू आज दार्चुला मात्रै होइन, देशभरका युवाको मनमा उब्जिरहेका छन्। गीत भाइरल हुँदा खुसी साट्ने नेतृत्व, तर नागरिकको ज्यान गुम्दा मौन बस्ने नेतृत्व यही तुलना आज जनताले गर्न थालेका छन्।

पत्रकार नरेश प्रसाद जोशी

दार्चुला सुदूरपश्चिम नेपाल