April 29, 2026, Wednesday
२०८३ बैशाख १६
Nepal 1:37:26 pm
Trending
जन आवाज

झुलाघाट नाकामा लक्ष्यभन्दा कम राजस्व संकलन, व्यापार सिथिलताको असर

२०८२ श्रावण ६

1K

बैतडी — बैतडीको सीमा नाका झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७९/८० मा ७४ लाख ४३ हजार २४३ रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले १ करोड ३ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा त्यसको ७१.८५ प्रतिशत मात्र संकलन भएको हो।

महाकाली भन्सार कार्यालयका कम्प्युटर अपरेटर सुरेशबहादुर मन्नी क्षेत्रीका अनुसार राजस्व संकलनको लक्ष्य नै बढी भएको हुँदा लक्ष्यअनुसार राजस्व उठाउन नसकिएको हो।

भन्सार महसुल, सेवा दस्तुर, मूल्य अभिवृद्धि कर (VAT) र अन्तशुल्क जस्ता शिर्षकबाट राजस्व संकलन गरिएको जानकारी दिइएको छ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको थियो। सो वर्ष ५० लाख ८९ हजार रुपैयाँ लक्ष्य थियो भने ८६ लाख ८४ हजार ९० रुपैयाँ संकलन भएको थियो।

झुलाघाट नाकाबाट कपडा, भाडाकुँडा, चिनी लगायतका घरेलु प्रयोजनका सामग्रीहरू भारतबाट आयात हुने गरेका छन्। तर पछिल्लो समय व्यापारमा आएको मन्दीका कारण राजस्व संकलनमा असर परेको कार्यालयले जनाएको छ।

उक्त नाकाबाट निर्यात शून्य रहेको छ। चोरी पैठारीसम्बन्धी ७ मुद्धामध्ये ४ मुद्धा फछ्र्यौट भएका छन् भने व्यवारिसे ३२ मुद्धामध्ये १२ मुद्धा फछ्र्यौट भएको जनाइएको छ।

करिब चार महिना अघिदेखि भन्सार अधिकृत दानबहादुर थापा मुद्धा हेर्ने जिम्मेवारीमा आएसँगै व्यवारिसे मुद्धाहरू धमाधम फछ्र्यौट हुन थालेका छन्। यसअघि पनि अधिकारी तोकिए तापनि ती मुद्धाहरू निष्कर्षमा पुग्न सकेका थिएनन्।