हामीले घरमा श्रीमती छोराछोरी हुँदाहुँदै पनि मायालाई धेरै हल्का रुपमा लिन्छौ र अर्कोसँग प्रेमको नाटक गर्छौं, भावना देखाउँछौ, वचन दिन्छौ, तर अन्त्यमा आफ्नै परिवारमा फर्कन्छौं, हामीलाई थाहा छ सुरक्षित आश्रय घर हो। छोरा मान्छेमा पनि यो सत्य लागू हुन्छ र छोरी मान्छेमा पनि। प्राय छोरा मान्छेहरूले आफ्नो सम्बन्धबाट आवश्यकता पुरा गरेपछि आफुलाई समेट्न जानेका हुन्छन्। भावना प्रयोग गर्छन्, तर भावनामा पर्दैनन्। तर महिलाहरूको हकमा उनिहरुले अलिक बढी नै माया गर्छन्। कसैप्रती कमजोर भएपछि उनले उसैलाई आफ्नो संसारको केन्द्रबिन्दु बनाइदिन्छन।
आफ्नो परिवार, सपना, मर्यादा- उसको लागि सबै त्यागदिन्छन। यो भावना यो आत्म-प्रशंसा प्राय आत्म बिनाशको लागि रहिरहन्छ… आफ्नो श्रीमान बाहेक अन्य बल्छी थाप्ने छोरा मान्छेसँग कहिल्यै साचो प्रेम हुँदैन। यो मुलत एक प्रकारको शारीरिक र मानसिक मोह हुन्छ जुन क्षणको भावनामा बिकास गरिएको हुन्छ। दुर्भाग्यवश, धेरै महिलाहरूले यस मोहलाई प्रेमको रुपमा मान्छन। उनीहरुले बिर्सन्छन कि आज जुन मान्छेले आफ्नो प्रेम कथा सुनाइरहेको छ सायद उसको जीवनमा यस्ता कथाहरू अझै पनि चल्दैछ्न… \
समय अनुसार श्रीमान टाढा हुँदा फेसबुक र टिकटकमा एक्टिभ हुने महिलाहरुलाई उसले आत्मकथा आँसु, मौन बिलाप फसाउनको लागि सुनाइरहेको पनि हुनसक्छ.. जस्तै अहिले उनलाई आफ्नो कथा सुनाउदै छ। माया प्रेम कहिले पनि अरुको परिवार टुक्राउन बनेको हुँदैन, प्रेम भनेको जिम्मेवारी र आपसी सम्मान हो। यदि कसैले साचो माया गर्छ भने उसले परिवार तोड्ने बाटोमा होइन गलत निर्णय बाट जोगाउँछ। हामी यथार्थपरक हुनुपर्छ। प्रेमीलाई माया गर्न सकिन्छ त्यो स्वभाविक हो। तर यसको पछाडि उदेश्य के हो? भनेर बुझ्नुपर्छ। के त्यो प्रशंसाहरु बटुल्नको लागि मात्रै हो वा वास्तविक पुल हो? मान्छे चिन्न सिक्नुपर्छ सबै मिठो शब्दहरू बोल्दै प्रशंसा गर्नेहरु प्रेमका लायक हुँदैनन्, कहिलेकाही त प्रलोभन वा आत्म आनन्दको लागि मात्र पनि हुन्छ वा उ तपाईंको मृत्यु काल बनेर पनि आको हुनसक्छ…
माया भन्ने शब्दको अर्थ आजको दिनमा हराउँदै गएको छ। प्रेम भनेको महिला र पुरुष बिचको सम्बन्ध मात्र होइन। बोट बिरुवा, फलफुल, प्रकृति, संगित, घरपालुवा जनावरलाई पनि गर्न सकिन्छ। साचो माया निस्वार्थ हुन्छ, बदलाको आशामा हुदैन। र तपाईंले कसैलाई एकान्तमा माया गर्नु छ भने- उसलाई स्वतन्त्र हुन दिनुहोस्। तपाईंको माया उनको लागि कहिले साङ्लो नबनोस उनलाई यसरी माया गर्नुहोस् कि ऊनी तपाईंको साथमा नभई तपाईंको अस्तित्वमा छिन- सम्झनामा, सम्मानमा। मायामा जति शान्ति हुन्छ, त्यो चोखो माया यो संसारमा सदासर्वदा रहिरहन्छ। जसले भावनाको गहिराइ बुझ्छ, र प्रेमलाई आत्मसमर्पण होइन भनी सोच्छ उसले एक उचाइमा लिएर जान्छ।
प्रकाश लावड प्रर्म (बैतडी)









