धनगढी – चैतन्य पाठशालाले आफ्ना पूर्व कर्मचारी भरत विक्रम शाह जेन–जेड आन्दोलनमा संलग्न भएको विषयमा आएको विभिन्न प्रतिक्रिया र सामाजिक सञ्जालमा गरिएको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
शुक्रवार सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा विद्यालयले शाहको संलग्नता नितान्त व्यक्तिगत भएको र यसलाई संस्थासँग जोडेर व्याख्या नगर्न सबैमा आग्रह गरेको छ। पाठशालाले शाह स्वयंले पनि आफू अहिले संस्थासँग कुनै प्रकारको संलग्नता नरहेको कुरा प्रस्ट्याइसकेको स्मरण गराएको छ।
“चैतन्य पाठशालालाई शाहज्यूको व्यक्तिगत संलग्नतासँग जोडेर हेरिएकोमा हामी दुःखित छौँ। उहाँको निजी निर्णयलाई संस्थासँग गाँस्नु उचित छैन,“ विज्ञप्तिमा उल्लेख छ।
विद्यालयले आफ्नो स्थापनाकालदेखि नै संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्ने ध्येयलाई प्रमुख एजेन्डा बनाउँदै आएको भन्दै यसबिचमा आएका राजनीतिक गतिविधिसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ। “यो संस्था राजनीतिक आग्रह र पूर्वाग्रहमा कहिल्यै संलग्न हुँदैन। हाम्रो एक मात्र ध्येय विद्यार्थीलाई संस्कारयुक्त शिक्षा दिनु हो,“ विज्ञप्तिमा भनिएको छ।
प्राचार्य प्रेमनिधि ओझाले संस्थाप्रतिको चासो, सरोकार र शुभेच्छा व्यक्त गर्ने अभिभावक, विद्यार्थी, शुभेच्छुक र सरोकारवालाप्रति आभार प्रकट गरेका छन्। उनले चैतन्य पाठशालालाई साझा संस्था र शिक्षा–संस्कारको मन्दिरका रूपमा जोगाउन सबै पक्षबाट सहकार्य र सकारात्मक सहयोग आवश्यक रहेको बताएका छन् ।
विद्यालयले अभिभावक, विद्यार्थी तथा सरोकारवालालाई असत्य, प्रचार वा पूर्वाग्रही धारणा फैलाउनबाट जोगिन समेत अपिल गरेको छ। विज्ञप्तिमा थप भनिएको छ, “हामी यहाँहरू सबैसँग रचनात्मक, सृजनशील र सकारात्मक मार्गनिर्देशनको अपेक्षा गर्दछौँ। चैतन्य पाठशाला हरेक पुस्ताको साझा सम्पत्ति हो, यसलाई विवादमा नजोडौँ।”









