April 30, 2026, Thursday
२०८३ बैशाख १८
Nepal 1:37:26 pm
Trending
जन आवाज

दार्चुलासहित सुदूरपश्चिममा बूढी पोल्ने पर्व धुमधामसँग मनाइदै

२०८२ आश्विन १

1.1K

नरेश प्रसाद जोशी/दार्चुला:असोज १ गते दार्चुलासहित सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा विजय उत्सवका रूपमा बूढी पोल्ने पर्व आज धुमधामसँग मनाइँदैछ। भगवान श्रीकृष्णले बालकृष्ण अवस्थामा राक्षसी पुतनालाई मारेर गोठालासँगै खुसी साटेको स्मरणमा यो पर्व मनाइने विश्वास रहिआएको छ।

परम्पराअनुसार भाद्र संक्रान्तिमा गोठालाहरूले रूखका हाँगा–बिंगा र झ्याङ जम्मा गरी ‘बूढी’ तयार पार्छन्। असोज संक्रान्तिको साँझ दोबाटो वा खुला ठाउँमा राखिएको बूढीलाई गाउँलेहरूले घर–घरबाट ल्याएको राँकोले एकैपटक जलाउने चलन छ। पुतली जलाएपछि बाँकी खरानी गाईमा तिलक लगाइन्छ, जसले पशुमा रोग नलाग्ने धार्मिक विश्वास गरिएको छ।

यस दिन काँक्रो खानु, लुतो बाँड्नु, बाटोमा दियो गाड्नु र गाउँभर देउडा खेल्ने परम्परा पनि छ। तर पछिल्लो पुस्ताले ध्यान नदिँदा यस्ता मौलिक संस्कृतिहरू क्रमशः हराउँदै गएको स्थानीयले बताएका छन्।