नेकपा एमालेनिकट राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष कमल गौतमको बिहीबार भैरहवामा भाषणका क्रममा निधन भएको छ।
रुपन्देहीको भैरहवास्थित नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय अगाडि आयोजित मजदुरहरूको धर्ना कार्यक्रममा सम्बोधन गर्दै गर्दा उनी अचानक ढलेका थिए। ६५ वर्षीय गौतमलाई तुरुन्तै मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको भए पनि चिकित्सकहरूले उनलाई मृत घोषित गरे।
बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर निवासी गौतम श्रीमती र दुई छोराका पिता हुन्। उनी वि.सं. २०५४ सालदेखि जिफन्टसँग आवद्ध रहँदै एमाले राजनीतिमा पनि सक्रिय थिए। उद्योगहरूमा भइरहेको विद्युत् कटौतीविरुद्ध जिफन्टले सो दिन धर्ना कार्यक्रम आयोजना गरेको थियो।
