October 14, 2026, Wednesday
२०८३ आश्विन २९
Nepal 1:37:26 pm
Trending
जन आवाज

धनगढीमा प्रगतिशील लेखक सङ्घ सुदूरपश्चिमको “ह्याँक” तेस्रो अंक विमोचन कार्यक्रम सम्पन्न

२०८२ कार्तिक १७

2.2K

धनगढी– प्रगतिशील लेखक सङ्घ सुदूरपश्चिम प्रदेशले हिजो शुभम् होटेल, धनगढीमा आफ्नो मुख पत्र “ह्याँक” तेस्रो अङ्कको विमोचन, विमर्श, स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको अध्यक्षतामा प्रगतिशील लेखक सङ्घ सुदूरपश्चिम प्रदेश अध्यक्ष कोपिला शर्मा “कल्प” ले गरेको थिइन भने प्रमुख अतिथिको रूपमा सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री माननीय त्रिलोचन भट्ट उपस्थित रहेका थिए। विशिष्ट अतिथिहरूमा भाषा आयोगका सदस्य डा। पुष्करराज भट्ट, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा। टी एन जोशी, साहित्यकार श्रेष्ठ प्रिया पत्थर, केन्द्रीय सदस्य गंगा प्रसाद रिजा, तथा अन्य स्रष्टा र समाजसेवीहरू सहभागी रहेका थिए।

विमोचनपछि प्राध्यापक तथा साहित्यकार डा। तुलसी शर्माले पुस्तकको समीक्षा गर्दै यसमा सुदूरपश्चिमको भाषा, कला, साहित्य मात्र नभई समग्र देशको वर्तमान परिवेश र सुधार आवश्यक विषयहरूलाई समेत समेटिएको भाव व्यक्त गरे। कार्यक्रममा प्रगतिशील लेखन क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टाहरूलाई प्रलेस प्रतिभा सम्मान २०८२ बाट सम्मानित गरिएको थियो। यसमा नारायण लम्साल, बाबुराम आचार्य, ओम प्रकाश पुन, डा। तुलसी शर्मा, कर्ण थापा सम्मानित भएका थिए भने मरणोपरान्त स्वर्गीय जयराज भण्डारी र स्वर्गीय महेन्द्र बस्नेतलाई पनि सम्मान दिइएको थियो। सम्मान उहाँका छोरा टेकराज भण्डारी र उपेन्द्र बस्नेतले ग्रहण गरेका थिए ।

त्यस्तै, प्रलेसलाई सहयोग गर्ने प्रेम सायरलाई कदर पत्रबाट सम्मान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिहरूले कलम र कापीको माध्यमबाट राष्ट्रको विकास र समाज सुधारमा स्रष्टाहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्। उक्त कार्यक्रम प्रलेस सुदूरपश्चिम प्रदेश सचिव चन्द्र थापाको सञ्चालनमा तथा प्रदेश उपाध्यक्ष गणेश ढकालको स्वागत मन्तव्यसहित सम्पन्न भएको प्रगतिशील लेखक सङ्घ सुदूरपश्चिम प्रदेश अध्यक्ष कोपिला शर्मा “कल्प”ले बताइन् । झन्डै पाँच दर्जन स्रष्टा सर्जकहरूको उपस्थितिमा दुई दर्जनभन्दा बढी स्रष्टाहरूले आफ्ना प्रगतिशील सिर्जनाहरू प्रस्तुत भएको समेत अध्यक्ष शर्माले बताइन् ।

भर्खरै