धनगढी– विश्व हिन्दू परिषद् नेपाल सुदूरपश्चिम प्रदेश तथा धनगढी उपमहानगर समितिको संयुक्त आयोजनामा धर्मरक्षा निधि समर्पण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम शनिबार सुदूरपश्चिमाञ्चल साहित्य समाज तथा पतञ्जली योग समितिको हल, धनगढी–कैलालीमा भव्य रूपमा आयोजना गरिएको हो ।
कार्यक्रमको अध्यक्षता विश्व हिन्दू परिषद् नेपाल सुदूरपश्चिम प्रदेशका अध्यक्ष महेन्द्रराज पन्तले गर्नुभएको थियो । कार्यक्रममा विश्व हिन्दू परिषद् नेपालका राष्ट्रिय संगठन सचिव प्रह्लादकुमार रेग्मी, काव्यकार तथा ज्योतिष मनिराज जोशी, सुप क्याम्पसका पूर्व क्याम्पस प्रमुख कटकबहादुर जप्रेल लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । वक्ताहरूले हिन्दू धर्म, संस्कार र संस्कृति संरक्षणको आवश्यकता तथा संगठनात्मक सुदृढीकरणका विषयमा आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पन्तले विश्व हिन्दू परिषद्ले वर्षभरि सञ्चालन गर्ने धार्मिक, सांस्कृतिक तथा संगठनात्मक गतिविधिका लागि आवश्यक आर्थिक स्रोत जुटाउने उद्देश्यले प्रत्येक वर्ष माघ महिनामा धर्मरक्षा निधि समर्पण कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार परिषद्ले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका पालिकाहरूमा संगठन विस्तार गर्दै लगेको छ भने स्थानीय तहसम्म धार्मिक तथा सांस्कृतिक चेतना फैलाउने अभियानलाई निरन्तरता दिइएको छ ।
उहाँले पछिल्लो समय समाजमा देखिँदै गएका विकृति, विसङ्गति तथा सांस्कृतिक चुनौतीहरूको सामना गर्न धार्मिक चेतनाको अभिवृद्धि आवश्यक रहेको बताउनुभयो । त्यसका लागि विश्व हिन्दू परिषद्ले धर्म, संस्कार र सभ्यताको संरक्षणसँगै युवा पुस्तालाई सकारात्मक दिशातर्फ उन्मुख गराउने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको उहाँको भनाइ थियो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय संगठन सचिव प्रह्लादकुमार रेग्मीले हिन्दू धर्मको मौलिकता, सहिष्णुता र सामाजिक एकताको महत्वबारे चर्चा गर्नुभयो । उहाँले धर्मरक्षा निधि समर्पणजस्ता कार्यक्रमहरूले संगठनलाई आत्मनिर्भर बनाउनुका साथै धार्मिक अभियानलाई निरन्तरता दिन सहयोग पुग्ने बताउनुभयो ।
धर्मरक्षा निधि समर्पण कार्यक्रममा करिब डेढ सय जना हिन्दू धर्मप्रति आस्था राख्ने भक्तजन तथा अभियन्ताहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले हिन्दू धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धनमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।








