July 28, 2026, Tuesday
२०८३ श्रावण १२
Nepal 1:37:26 pm
Trending
Puskar Joshi

रानाथारू समुदायसँग चुनावी जीतको लागि मीतको सहारा।

२०८२ माघ २०

465

 

 

धनगढी ः नेपाली कम्युनिस्ट पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ का उमेदवार पूर्व मन्त्री प्रेमबहादुर आलेमगरले रानाथारु समुदायसँग नजिकिन धनगढी उपमहानगरपालिका–११ का राजेन्द्र रानासँग मीत लगाएका छन।

 

गत चुनावमा कञ्चनपुरमा प्रदेश सभा सदस्य उमेदवार रहदा ओमविक्रम भाट (सरल)ले कृष्णपुर नगरपालिका–७ का सौला रानासँग मीत लगाएका थिए। पारिवारिक सम्बन्ध र स्नेहको यस परम्परागत प्रचलन भएतापनि प्रायः चुनाव नजिक र समाजमा प्रभाव पार्नसक्ने व्यक्तिसँग मात्रै यस्तो सम्बन्ध गाँस्ने गरिएको राना समुदायका व्यक्तिहरूको गुनासो छ।

 

चुनाव नजिकिदै गर्दा सम्पूर्ण दलहरूले चुनावी प्रचारप्रसार तीव्र पारेका बेला आलले मीत लगाएका हुन्। चुनावी प्रचारप्रसारलाई गति दिन र समुदायसँग नजिकपन देखाउन राना थारू समुदायको एउटा परम्परागत साइनो ‘मीत लगाउनु’ वा दिलबर जोड्ने प्रचलन कैलाली र कञ्चनपुरमा छ। समुदायबाट लगभग हराइसकेको यो प्रचलन चुनावका बेला नेताहरूले जीवित राखेका हुन्।

 

रानाथारू समुदायमा मित्रता÷मिन्त्रानोको साइनो धेरै नजिकको दाजुभाइ सरहको सम्बन्ध मानिन्छ। अन्यत्रबाट आएका मीतहरूको ठूलो सत्कार गर्ने परम्परा राना समुदायमा रहि आएको छ। पूर्व जन्ममा विश्वास गर्ने रानाथारु समुदाय मीत÷दिलबर पूर्व जन्ममा सक्कै दाजुभाइ भएको र यो जुनीमा भगवानले जुराइदिएको र अर्को जुनीमा पनि भेट हुने भन्ने मान्यता राख्छ्न। प्राय मीत एउटै नाम भएकाहरुले लगाउँने परम्परा रहेतापनि पछि आफूखुसी मन मिल्नेसँग मीत लगाउने क्रम बढेको छ।

 

कैलाली–कञ्चनपुरका आदिवासी रानाथारुहरूको इमानदारी र स्नेही व्यवहारमाथि यस किसिमको साइनोको टाठोबाठाहरूले गलत र स्वार्थी प्रयोगले जग्गा जमिन समेत हडपेका किस्सा थुप्रै छन। यस्तै स्वार्थले भरिएका मित्रताका कारण राना समुदायमा यो परम्परा लगभग लोप भैसकेको छ। तर, चुनाव नजिकिएसँगै नेताहरूले यसलाइ जीवित राखेका पाइएको छ।

 

निर्वाचनको समयमा रानाहरूसँग मीत लगाउन आउने चुनावी शैलीले राजनैतिक स्वार्थको रूपमा स्पष्ट भएको धनगढीका रवि रानाले बताए। कैलाली–कञ्चनपुरमा मात्र बसोबास रहेको राना समुदायको भोट आफू तिर पार्नका लागि मात्र यस्ता प्रकारका शैली अपनाएको तर्क उनको छ।