May 1, 2026, Friday
२०८३ बैशाख १८
Nepal 1:37:26 pm
Trending
जन आवाज

विश्व अन्तरधार्मिक सद्भाव सप्ताह’को अवसरमा विशेष वेबिनार हुने, विभिन्न देशका विज्ञ सहभागी हुँदै

२०८२ माघ २१

975

धनगढी, २१ माघ /  संयुक्त राष्ट्र संघ (UN) को आह्वानमा हरेक वर्ष फेब्रुअरीको पहिलो हप्ता मनाइने ‘विश्व अन्तरधार्मिक सद्भाव सप्ताहको अवसर पारेर ‘गीता फोर लाइफ’ अभियानले एक अन्तर्राष्ट्रिय वेबिनार आयोजना गर्ने भएको छ।

विश्व शान्ति, कल्याण र विभिन्न धर्म एवं आध्यात्मिक दर्शनहरूबीच सहकार्य बढाउने उद्देश्यले ‘गीताका शिक्षाहरू: अन्तरधार्मिक विश्वास र अभ्यासका लागि मार्गनिर्देशन’ विषयक वेबिनार आयोजना गर्न लागिएको हो।

विज्ञहरूको व्यापक सहभागिता

वेबिनारमा नेपाल लगायत विभिन्न मुलुकका प्राज्ञिक तथा आध्यात्मिक व्यक्तित्वहरूको सहभागिता रहनेछ। कार्यक्रममा नेपालका प्रतिष्ठित शैक्षिक दार्शनिक प्रा. डा. विद्यानाथ कोइराला र सांस्कृतिक विज्ञ प्रा. डा. मोहन राज पौडेलले मुख्य वक्ताका रूपमा धारणा राख्नेछन्।

त्यस्तै, नर्वेस्थित नर्वेजियन युनिभर्सिटी अफ लाइफ साइन्सका प्रा. डा. विशाल सिटौला, अमेरिकाका वरिष्ठ वैज्ञानिक डा. विष्णु जोशी, बंगलादेशका प्राध्यापक प्रशान्त कुमार शिल र इन्डोनेसियाका डा. आइ मादे सुपार्ताले गीताको दर्शन र अन्तरधार्मिक सद्भावबारे आफ्ना प्रस्तुति दिनेछन्।

कहिले र कसरी सहभागी हुने?

गीता फोर लाइफका अन्तर्राष्ट्रिय अध्यक्ष केदार बस्नेतको अध्यक्षतामा हुने उक्त कार्यक्रमको सहजीकरण संस्थापक संयोजक डा. हरिचन्द्र कमालीले गर्नेछन्।

आयोजकका अनुसार वेबिनार आगामी ७ फेब्रुअरी २०२६ मा नेपाली समय अनुसार बेलुका ८ बजेदेखि सुरु हुनेछ।

इच्छुक सहभागीहरूले जुम आईडी (Zoom ID): 85627971924 र पासवर्ड (Password): 684409 मार्फत सिधै कार्यक्रममा जोडिन सक्नेछन्।

“गीता ज्ञान, जीवन विज्ञान” भन्ने नाराका साथ सञ्चालित यो अभियानले आध्यात्मिक चेतनामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य राखेको छ। आयोजकले विश्वभर छरिएर रहेका शान्ति र आध्यात्मिक चिन्तकहरूलाई यस संवादमा सहभागी हुन आह्वान गरेको छ।