धनगढी- सुदूरपश्चिममा साहित्यिक कृतिलाई प्रत्यक्ष रङ्गमञ्चमार्फत अनुभूति गराउने पहिलो नाट्य प्रस्तुति आगामी माघ २३, २४ र २५ गते धनगढीको वैभव प्यालेस एण्ड रिसोर्ट, तारानगरमा आयोजना हुने भएको छ।
हृदयचन्द्रसिंह प्रधानको चर्चित कृति ‘एक चिहान’ मा आधारित यो नाटक विद्यार्थी तथा साहित्य प्रेमीहरूका लागि पाठ्यक्रममा सीमित साहित्यलाई जीवन्त रूपमा अनुभूति गराउने उद्देश्यले प्रस्तुत गर्न लागिएको आयोजकले जनाएको छ।
बाजुराका १७ वर्षीय सुनिल बुढा ‘कछुवा’ ले उपन्यासलाई नाटकमा रूपान्तरण गरेका हुन्। १५ वर्षको उमेरमै खण्डकाव्य ‘सहर जाने बाटो’ लेखेर साहित्य र समाजसेवामा सक्रिय सुनिल हाल धनगढीस्थित कैलाली मोडेल माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत छन्। आयोजकका अनुसार, पाठ्यपुस्तकमा सीमित कथा, पात्र र द्वन्द्वलाई रङ्गमञ्चमा उतारेर उनले कथालाई अझ संवेदनशील, स्पष्ट र प्रभावशाली बनाउने प्रयास गरेका छन्।
‘गाउँले प्रोडक्सन’ को आयोजनामा हुन लागेको यस नाट्य प्रस्तुति पाठ्यक्रममा पढिने पङ्क्तिभन्दा बाहिर गई कथाभित्र लुकेको पीडा, प्रश्न, द्वन्द्व र भावनालाई प्रत्यक्ष दर्शकसामु उजागर गर्नेछ। विशेष गरी कक्षा १२ का विद्यार्थीका लागि यो नाटक साहित्य अध्ययन गर्ने नयाँ र व्यवहारिक माध्यम बन्ने अपेक्षा गरिएको छ। नाटकमार्फत विद्यार्थीले कथाको सार मात्र नभई पात्रको मनोविज्ञान, समाजसँगको द्वन्द्व र भावनात्मक यात्रालाई प्रत्यक्ष अनुभव गर्न सक्नेछन्।
आयोजकका अनुसार सुदूरपश्चिम प्रदेशमा यस प्रकारको साहित्यिक नाट्य प्रस्तुति पहिलो पटक आयोजना हुन लागेको हो। कार्यक्रममा विद्यालयका प्राचार्य, नेपाली विषयका शिक्षक तथा साहित्यप्रेमीहरूलाई विशेष रूपमा आमन्त्रण गरिएको छ। यसले विद्यार्थीमा साहित्यप्रतिको रुचि बढाउने, आलोचनात्मक सोच र विश्लेषणात्मक क्षमतामा सुधार ल्याउने विश्वास गरिएको छ।
माघ २३, २४ र २५ गतेका लागि तय गरिएको यो नाट्य प्रस्तुति सुदूरपश्चिमका विद्यार्थी र आम दर्शकका लागि कथालाई पढेर मात्र होइन, प्रत्यक्ष अनुभव गर्ने सुनौलो अवसर बन्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सामान्य टिकट रु २०० र – विद्यार्थी, अपाङ्ग तथा वृद्ध टिकट रु १५० रहेको समेत आयोजकले जनाएको छ । थप जानकारीका लागि ९८५८४८७५०६, ९८२६९८९३८५ मा समेत सम्पर्क गर्न सकिने छ ।






