धनगढी: कैलाली निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार भीम बडुवालले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन।
आफूले पाँच वर्षमा गर्न सकिने कामको फेहरिस्त समेटिएको घाेषणा पत्र बडुवालले सार्वजनिक गरेका हुन्। १३ वटा बुँदामा रहेको प्रतिबद्धतापत्रमा कान्द्रा नदी कोरिडोर निर्माणदेखि स्रोत व्यवस्थापनसम्म रहेको छ। कैलाली क्षेत्र नम्बर ३ मा पर्ने कैलारी, भजनी घोडाघोडी नगरपालिकाका सम्पूर्ण वडामा शिक्षा, स्वास्थ्य, सुरक्षित बस्ती, रोजगारी र आधुनिक पूर्वाधारको दीगो विकासलाई प्राथमिकतामा राखेर जनताको जीवनस्तर सुधार गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरिएकाे छ।
कान्द्रा नदी कोरिडोर निर्माण अन्तर्गत घोडाघोडीदेखि भजनीसम्म ३८ किलोमिटर लामो तटबन्ध निर्माण, नदी नियन्त्रण, हरित कोरिडोर, बाइरोड निर्माण, चक्लाबन्दी खेती/करार खेती गर्ने बहुउद्देश्य परियोजनालाई राष्ट्रिय गौरव तथा ठुलो योजनाका रूपमा ल्यईएकाे छ ।
डुबान र बाढी प्रभावित जोखिम क्षेत्रको नक्साङ्कन गरेर मोहना, कान्द्रा, काढा, पथरैया, कटैनी, डोडालगायत नदी नियन्त्रण र तटबन्धन गरिने घोषणापत्रमा उल्लेख गरिएको छ।
त्यसै गरेर तीन वटै पालिकाका विभिन्न वडामा पक्की पुल, सडक कालोपत्रे, ढल निकास, खेल मैदान निर्माण, बसपार्क निर्माण गरिने उल्लेख छ।
शिक्षा सुधार र सिप विकासका लागि सबै पालिकामा सहज शिक्षा पहुँचका लागि पहल गरिनुका साथै विभिन्न शैक्षिक संस्थालाई प्राविधिक तथा सिप मूलक शैक्षिक संस्थाको विकास, भएका उच्चशिक्षा प्रदायक संस्थाको व्यवस्थापन, उच्चशिक्षामा सबै बालबालिकाको पहुँचका लागि छात्रावृत्तिको व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ।
स्वास्थ्य सेवा सुदृढीकरणका लागि प्रत्येक पालिकामा सुविधा सम्पन्न १५ देखि २५ सय्याको अस्पताल स्थापना तथा स्तरोन्नति, एम्बुलेन्स सेवा विस्तार, सिकलसेल रोगको निःशुल्क उपचार, स्वास्थ्य बिमालाई प्रभावकारी बनाउँदै पाँच लाख रुपियाँसम्मको स्वास्थ्य बिमा कार्यक्रम लागु गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ।
पर्यटन, भाषा, कला, संस्कृति र वातावरण संरक्षणमा जोड दिँदै प्रतिबद्धता पत्रमा घोडाघोडी क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा र अन्य तीन वटा पालिकामा रहेका प्राकृतिक ताल, धार्मिकस्थलको संरक्षणसँगै पर्यटकीय विकास गरिने उल्लेख छ।
युवा, रोजगारी र उद्यमशीलताका विषयमा विभिन्न योजना घोषणापत्रमा समेटिएको छ। त्यसै गरी महिला, दलित, सुकुमवासी, मुक्त कमैया, मुक्त कमलरी तथा पिछडिएको समुदायको सशक्तीकरण र आत्मनिर्भरताका विभिन्न कार्यक्रम समेटिएको छ।
भ्रष्टचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै २०४६ सालपछिका सार्वजनिक पद धारण गर्ने उच्च पदस्थ व्यक्तिको सम्पत्ति छानबिनसम्बन्धी कानुन बनाउन पहल गरिने प्रतिबद्धतापत्रमा समेटिएको छ।
पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका बडुवालले सुशासनयुक्त समाज, जवाफदेही सरकार, भ्रष्टाचार मुक्त राजनीति र समृद्ध कैलाली क्षेत्र नम्बर ३ निर्माण गर्ने दृढ संकल्पका साथ आफू जनताका माझ आएको बताए । कैलाली- ३ मा चुनावी घोषणापत्र सार्वजनिक गर्नेमा नेपाली कांग्रेस पहिलो भएको छ। अन्य दलसमेत चुनावी अभियानसँगै घोषणापत्रको तयारीमा जुटेको जनाएका छन्।









