September 20, 2026, Sunday
२०८३ आश्विन ५
Nepal 1:37:26 pm
Trending
जन आवाज

भ्रष्टाचार र शैक्षिक असमानताविरुद्ध अखिल (क्रान्तिकारी) को एकताको राष्ट्रिय सम्मेलन

२०८२ माघ २९

665

काठमाडाैं, २९ माघ । अखिल (क्रान्तिकारी) को एकताको राष्ट्रिय सम्मेलन उद्घाटन हुन गइरहेको छ। देशको बदलिँदो राजनीतिक अवस्था, शिक्षा क्षेत्रमा बढ्दो असमानता, भ्रष्टाचार र राष्ट्रिय स्वाधीनतामाथि देखिएका चुनौतीका बीच आयोजना हुन लागेको यस सम्मेलनलाई विद्यार्थी आन्दोलनको दृष्टिले महत्वपूर्ण मानिएको छ।

तीन विद्यार्थी संगठनको एकताबाट निर्माण हुन लागेको अखिल (क्रान्तिकारी) ले सम्मेलनमार्फत् के सन्देश दिन खोजेको छ, यसको तयारी कस्तो अवस्थामा छ, फागुन १ गतेलाई उद्घाटनको दिन किन रोजियो र निर्वाचनको सन्दर्भमा संगठनको धारणा के हो भन्ने जिज्ञासा आम विद्यार्थी र राजनीतिक वृत्तमा चासोको विषय बनेको छ।

यिनै प्रश्नहरूलाई केन्द्रमा राख्दै अखिल (क्रान्तिकारी) का संयोजक महेश श्रेष्ठसँग गरिएको यस अन्तरवार्तामा सम्मेलनको तयारी, उद्देश्य, राजनीतिक सन्दर्भ र आगामी कार्यदिशाबारे स्पष्ट दृष्टिकोण प्रस्तुत गरिएको छ।

फागुन १ गते अखिल (क्रान्तिकारी) को एकताको राष्ट्रिय सम्मेलन उद्घाटन हुँदैछ । सम्मेलनको तयारी कस्तो छ ?

–एकताको राष्ट्रिय सम्मेलनको तयारी करीव पूरा भइसकेको छ । जिल्ला सम्मेलन, जिल्ला भेला र जिल्लाका बैठकहरु करिव पूरा भइसकेका छन् र धेरै जसो जिल्लाहरुले प्रतिनिधि, पर्यवेक्षकहरु चयन गरिसकेका छन् । फागुन २९ गतेदेखि प्रतिनिधि, पर्यवेक्षक साथीहरु सम्मेलन स्थलमा आउने क्रम शुरु हुनेछ । सम्मेलनमा प्रस्तुत हुने दस्तावेज जस्तैः प्रतिवेदन, विधान आदिको लेखन कार्य पनि सकिएको छ । सम्मेलनको उद्घाटन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव कमरेड सीपी गजुरेल गौरवले गर्नु हुनेछ ।

एकताको राष्ट्रिय सम्मेलनबाट आम विद्यार्थीहरुका बीचमा के सन्देश दिन खोजिएको छ ?

–हामीले तय गरेको सम्मेलनको मूल नारामा नै हाम्रो संगठनले दिन खोजेको मूल सन्देश अभिव्यक्त भएको छ । मूल नारा यसप्रकार छ–“विद्यार्थी एकता, स्वाधीनता, भ्रष्टाचारीलाई कार्वाही, सुशासन, समग्र शैक्षिक अधिकारका लागि हाम्रो आन्दोलन ! जुझारु संगठन निर्माण र जनवादी–वैज्ञानिक समाजवादी शिक्षाको लागि एकताको राष्ट्रिय सम्मेलन ! !” अहिले देशको राष्ट्रिय स्वाधीनता खतरामा छ । भ्रष्टाचारले देश आक्रान्त छ । जनताका छोराछोरीहरु विशेषतः गरिवका छोराछोरीहरु शैक्षिक अधिकारबाट बञ्चित भएका छन् । यस्तो अवस्थामा सचेत र जागरुक विद्यार्थी आन्दोलनको आवश्यकता छ भन्ने सन्देश हामीले एकताको राष्ट्रिय सम्मेलनबाट दिन खोजेका हौं ।

सम्मेलन उद्घाटनको दिन फागुन १ गतेलाई नै किन रोज्नुभयो ?

– २०५२ फागुन १ गते महान जनयुद्ध प्रारम्भ भएको ऐतिहासिक दिन हो । जनयुद्धले उठाएका जनताका एजेण्डा, जनताका माग अझै अपूरै छन् । नेपाल स्वाधीन हुनुपर्दछ । जनताले स्वतन्त्रता र समानताको अधिकार पाउनुपर्दछ भन्ने जनयुद्धको मुख्य उद्देश्य थियो । जनयुद्धले उठाएका मागहरुप्रति विद्यार्थी र आम जनतालाई पुनः ध्यान आकर्षण गराउन हामीले सम्मेलनको उद्घाटनको दिन फागुन १ लाई रोजेका हौं ।

दुईवटा अखिल (क्रान्तिकारी) र अखिल (छैठौं) गरी तीन संगठनको एकताको मर्मलाई संरक्षण र विकासबारे के सोच्नु भएको छ ?

– हामीले संगठनको नीति, कार्यक्रम, योजना र नेतृत्व चयन मार्फत् एकताको मर्मलाई संरक्षण र विकास गर्ने छौं ।

सबै पार्टीका विद्यार्थी संगठनहरु निर्वाचनमा भोट माग्न हिंडेका छन् तर तपाईहरु त सम्मेलनतिर लाग्नु भयो ?

– गत भाद्र २३ र २४ को जेनजी विद्रोहपछि नेपालको राजनीति फरक ढंगले अगाडि बढेको प्रष्टै छ । ०८४ मा गर्नुपर्ने चुनावलाई २ वर्ष अगावै सारिएको छ । जनताको आवश्यकताले हैन, साम्राज्यवादीहरुको स्वार्थ सिद्धिका लागि २वर्ष अगाडि सारेर चुनाव गरिंदैछ । जेनजीहरुले भ्रष्टाचारको अन्त्य र सुशासनको माग गरेका थिए । चुनाव उनीहरुको माग थिएन । जेनजी आन्दोलन हाइज्याक भएकाले हाम्रो विद्यार्थी संगठन भोट माग्दैन र देशव्यापी निर्वाचन बहिष्कार आन्दोलनमा जान्छ।

यहाँकाको एकताको राष्ट्रिय सम्मेलन सफलताको शुभकामना छ ?

–धन्यवाद !