August 3, 2026, Monday
२०८३ श्रावण १८
Nepal 1:37:26 pm
Trending
जन आवाज

बङ्गलादेशको आम निर्वाचनमा विवाद: शेख हसिनाले नतिजा अस्वीकार गरिन्

२०८२ फाल्गुन १

290

ढाका,१ फागुन । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले बिहीबार सम्पन्न आम निर्वाचनलाई पूर्ण रूपमा फर्जी र असंवैधानिक भन्दै अस्वीकार गरेकी छन्। भारतमा निर्वासनमा रहेकी हसिनाले आफ्नो पार्टी ‘अवामी लिग’ लाई चुनावमा प्रतिबन्ध लगाइएको र अन्तरिम सरकारले गैरकानुनी रूपमा सत्ता कब्जा गरेर निर्वाचन गराएको आरोप लगाउँदै यसलाई अवैध घोषणा गरेकी हुन्।

निर्वाचनको नतिजा सार्वजनिक भएपछि प्रतिक्रिया दिँदै हसिनाले भनिन्, ‘मोहम्मद युनुसले असंवैधानिक तरिकाले सत्तामा कब्जा जमाए र सोही सेटिङ अन्तर्गत यो देखावटी चुनाव गराइएको हो। जनमतलाई कुल्चिएर गरिएको यो निर्वाचनको कुनै वैधानिकता छैन।’

बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले २९९ सिटमध्ये २०९ सिट जितेर स्पष्ट बहुमत प्राप्त गरेको छ। तर, हसिनाले भने मुख्य प्रतिस्पर्धी दल अवामी लिगलाई प्रक्रियाबाटै बाहिर राखेर गरिएको चुनावले बंगलादेशी जनताको वास्तविक प्रतिनिधित्व नगर्ने दाबी गरेकी छन्। १५ वर्षसम्म बङ्गलादेशमा शासन गरेकी हसिनाको पार्टीलाई यसपटक चुनाव लड्न रोक लगाइएको थियो।

बीएनपीको जितसँगै खालिदा जियाका छोरा तारिक रहमान अब बङ्गलादेशको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ। १७ वर्षको निर्वासनपछि गत डिसेम्बरमा स्वदेश फर्किएका रहमानले दुई क्षेत्रबाट चुनाव जितेका छन्। हसिनाले भने रहमानको नेतृत्व र वर्तमान निर्वाचन प्रक्रिया दुवैलाई अन्तर्राष्ट्रिय मापदण्ड विपरीत रहेको बताएकी छन्।

निर्वाचनमा जमात-ए-इस्लामी नेतृत्वको गठबन्धनले ७० सिट प्राप्त गरेको छ। जमातका प्रमुख शफिकुर रहमानले ढाका-१५ बाट जित हासिल गरेका छन्।