August 3, 2026, Monday
२०८३ श्रावण १८
Nepal 1:37:26 pm
Trending
Puskar Joshi

क्षेत्रीय सहरी विकासमार्फत धनगढीमा चार सडक कालोपत्रको काम सुरु

२०८२ फाल्गुन १

590

 

 

धनगढी : क्षेत्रीय सहरी विकास आयोजना अन्तरगत धनगढी उपहानगरपालिकामा चार वटा सडक कालोपत्रे काम सुरु भएको छ। निर्माण कम्पनी केएस कन्स्ट्रक्सनले शुक्रवारदेखि धनगढी उपमहानगरपालिका कार्यालय अगाडीको सडक कालोपत्र गर्न सुरु गरेको हो।

 

कम्पनीका साइट इन्चार्ज शिवराज कठायतले सुरुमा सडकको दुवैतिर नाली निर्माण कार्य अघि बढाइएको बताए। उनले भने, ‘आजदेखि काम सुरु भयो। अब नियमित काम हुन्छ। भोलिबाट जनशक्ति थप गछौ। उपकरणहरु पनि थप गर्छाै। शिवनगरमा हाम्रो क्याम्प छ। क्याम्पमा सामान राख्छौ। खुटिया हाम्रो क्रसर छ। त्याहाँबाट ल्याएर भकाभक हाल्छौ।’

 

क्षेत्रीय सहरी विकास आयोजना र निर्माण कम्पनीबीच चार वटा सडक कालोपत्रका लागि गत पुसमा ठेक्का सम्झौता भएको थियो। धनगढीमा ६ दशमलव ४६५ किलोमिटर सडक कालोपत्र हुने जनाइएको छ। ३१ करोड २७ लाखको लागतमा आगामी १५ महिनाभित्र काम पुरा गर्नुपर्ने सम्झौतामा उल्लेख छ। कठायतले भने, ‘समयमा काम सक्छौ। हामीले धनगढीको मुख्य सडक पनि बनाएका हौ। यो पनि समय भन्दा अगाडी सक्छौ। अहिले २ सय मिटरमा काम सुरु गरेका छौ। क्षेत्राधिकार खाली छैन। अन्य क्षेत्रमा पनि समस्या नहोला। क्षेत्राधिकारको समस्या आयो भने, धनगढी उपमहानगरपालिकासँग र क्षेत्रीय सहरीसँग समन्वय गर्छाै। अहिले क्षेत्राधिकारको कुनै समस्या हामीले देखेका छैनौ। काम गर्दै जाँदा आयो भने, सबैको सहयोग चाहिन्छ।’

 

एसियाली विकास बैँक (एडीबी)को सहुलियत ऋण सहयोगमा क्षेत्रीय सहरी विकासले सडक कालोपत्र गर्दै छ। १४ मिटर चौडाइका सडकहरू निर्माण गरिने छ।

 

सहरी विकास आयोजनाको दोस्रो चरणमा कैलाली र कञ्चनपुरका चार स्थानीय तहहरूमा साढे २९ किलोमिटर नयाँ सडक कालोपत्र गरिने जनाइएको छ। आयोजनाको पहिलो चरणमा धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानमा १० किलोमिटर सडक कालोपत्र गरिएको थियो। क्षेत्रीय सहरी विकासको पहिलो चरणमा ठेक्का सम्झौता गरिएको फोहोर मैला व्यवस्थापन केन्द्र निर्माणको काम जारी रहेको छ।