काठमाडाैं, २५ फागुन । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले घटेको हो।
यो गिरावट सँगै आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि हिजो आइतबार सुन प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो।
यसैगरी, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार आज चाँदी तोलामा ६५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ४१० रुपैयाँ कायम भएको छ। हिजो चाँदी प्रतितोला ५ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा मूल्यमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि यसको प्रभाव परेको व्यवसायीहरूले बताएका छन्।









