September 11, 2026, Friday
२०८३ भाद्र २६
Nepal 1:37:26 pm
Trending
जन आवाज

धनगढीमा माइक र डिजे बजाउन रोक

२०८२ चैत्र ४

655

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले विवाह, व्रतबन्ध, सप्ताह तथा विभिन्न चाडपर्वका अवसरमा माइक, डिजे लगायत विद्युतीय बाजा ठुलो आवाजमा नबजाउन आग्रह गरेको छ। प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीद्वारा जारी सूचनामा यस्ता उपकरणसँगै प्रेसर हर्न नबजाउन र पटाका नपट्काउन समेत अनुरोध गरिएको छ।
उपमहानगरपालिकाका अनुसार ध्वनि प्रदूषणका कारण नगरवासीहरूमा नकारात्मक असर परेको छ। विशेष गरी वृद्धवृद्धा, बालबालिका तथा मुटुरोगीहरूलाई स्वास्थ्यसम्बन्धी थप समस्या देखिएको उल्लेख गरिएको छ।
नगरवासीबाट पटक–पटक गुनासो आइरहेको र ध्वनि प्रदूषणले वातावरणमा समेत असर पार्ने भएकाले राष्ट्रिय ध्वनि प्रदूषण मापदण्ड २०६९ अनुसार नियन्त्रणका लागि यो निर्णय लिइएको जनाइएको छ।
सूचनामा उल्लिखित निर्देशन अटेर गरी विद्युतीय बाजा प्रयोग गरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।