July 29, 2026, Wednesday
२०८३ श्रावण १३
Nepal 1:37:26 pm
Trending
जन आवाज

अछाममा महानायक राजेश हमालको नाममा १२ लाख ७७ हजार भ्रष्टाचार

२०८२ चैत्र ५

300

धनगढी : अछाममा महानायक राजेश हमालको नाम दुरुपयोग गरेर भ्रष्टाचार भएको पाइएको छ। उनको तस्बिर प्रयोग गरेर बनाइएको भनिएको वृत्तचित्र (डकुमेन्ट्री) का नाममा १२ लाख ७७ हजार दुई सय ५० रुपैयाँ हिनामिना गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीवार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेसँगै यसबारे खुलासा भएको छ। अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउँद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण शाह र लेखापाल विमल साउँदविरुद्ध सार्वजनिक सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको हो। सोही प्रकरणमा आर.जे. ट्वान्टी फोर न्युज एवं नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्साल (रामबहादुर लम्साल) लाई पनि प्रतिवादी बनाइएको छ।
आयोगका अनुसार, राजेश हमालको नाम जोडेर व्यक्तिगत निर्देशनसमेत भई चलचित्र निर्माण गर्ने भन्दै १५ लाख रुपैयाँ बजेट छुट्याइएको थियो भने मध्यमध्ये १२ लाख ७७ हजार दुई सय ५० रुपैयाँ भुक्तानी गरिएको थियो। तर, उक्त कार्यमा सार्वजनिक खरिद ऐन र नियमावलीको गम्भीर उल्लङ्घन गरिएको पाइएको अख्तियारको ठहर छ।
बिना प्रतिस्पर्धा र प्रक्रिया मिचेर सोझै खरिद सम्झौता गरिएको, कानुनी सीमाभन्दा बढी ३५ प्रतिशतसम्म पेस्की दिइएको र बैंक ग्यारेन्टीसमेत नलिई रकम भुक्तानी गरिएको अनुसन्धानमा खुलेको अख्तियार प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
चलचित्र निर्माणका लागि पेस गरिएका बिलहरू नै शङ्कास्पद र नक्कली रहेको तथा काम नै नगरी सरकारी रकम हिनामिना गर्न मिलेमतोमा योजनाबद्ध रूपमा भ्रष्टाचार गरिएको पाइएको अख्तियारको भनाइ छ।
गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदले आफ्नो पदको दुरुपयोग गर्दै आफू र अन्य प्रतिवादीहरूलाई लाभ पु¥याउने बदनियतले उक्त कार्य गरेकाले उनलाई थप सजायको समेत माग दाबी गरिएको छ।
त्यस्तै, अरू प्रतिवादीहरूलाई पनि भ्रष्टाचार निवारण ऐनको दफा १७ र २२ बमोजिमको कसुरमा बिगो असुलउपर गरी हदैसम्मको सजाय हुनुपर्ने माग गर्दै आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।